शान्तिनगर गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शान्तिनगर, ८ माघ ।
दाङको शान्तिनगर गाउँपालिका अन्तर विद्यालय स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आइतबार देखि सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा माध्यामिक विद्यालय शान्तिनगर –७ तुलसीपुर दाङको संयोजनमा भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले गाउँपालिकाले खेलक्षेत्रलाई अगाडि बढाएर लगिरहेको बताए । उनले जिल्लामा हुने विभिन्न प्रतियोगितामा गाउँपालिकाले विजयी हासिल गर्दै आइरहेको भन्दै खेलका कारण गाउँपालिकालाई थप उर्जा मिलेको बताए । उनले विद्यार्थीहरूले खेलको नियम र अनुशासनमा रहेर आफ्नो प्रतियोगिता देखाउन आग्रह गरे । उनले ३ दिनसम्म सञ्चालन हुने खेलमा अनुशासन भएर खेल्न आग्रह गरे ।

यस प्रतियोगितामा भाग लिएका विद्यार्थीहरूलाई अर्को वर्षमा प्रतियोगितामा भाग लिन थप उर्जा मिलोस्, भन्ने आफूमा विश्वास रहेको उनले बताए । उनले भने,‘ अन्तर विद्यालय प्रतियोगिताबाट गाउँपालिका हुँदै प्रदेश र संघसम्म पुग्न मेरो शुभकामना छ । यस्तै उनले यस्तो प्रतियोगिताले खेलाडीहरूको प्रतिभा बाहिर आउने र जसले आफूलाई मात्र नभइ गाउँपालिकालाई समेत बाहिर चिनाउन अवसर मिल्ने पनि बताए ।


शान्तिनगर ५ का वडाध्यक्ष ओपेन्द्र रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष प्रेमा केसीले गाउँपालिकाले ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नाराका साथ प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आइरहेको बताइन् ।

यस्तै उनले खेलमा सबै भन्दा ठुलो अनुशासन हुने भएकाले त्यसतर्फ ध्यान दिन समेत सहभागी विद्यार्थीहरूलाई आग्रह गरिन् । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण कँडेलले राज्यको दायित्व अन्तर्गत गाउँपालिकामा गाउँपालिका स्तरीय खेलकुदको कार्यक्रम गरिएको बताए ।

खेलको माध्यमबाट असल नागरिकको निर्माण हुने भन्दै उनले गतिशील र अनुशासनमा लयबद्ध गर्नु पर्ने बताए । भोलिका कर्णाधार विद्यार्थीहरूलाई खेलमात्र नभइ व्यायाम, योग र ध्यानमा पनि जोडेर लग्न सकेमा राज्यले अपेक्षा गरेको नागरिक बनाउन सकिने उनले भनाइ थियो । कार्यक्रममा वडा नम्बर एकदेखि ७ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने छ ।