खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको छ: स्वास्थ्यमन्त्री खनाल

प्रिया स्मृती गजमेर,
लमही, २४ पुष ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन र एकता कायम गर्न खेलकुदले मद्धत गरेको बताउनु भयो । लमही नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले राम्रो खेल खेल्ने खेलाडीहरु आर्थिक रुपमा समेत बलियो भएको उहाँले बताउनु भयो । बैचारिक रुपले फरक मत राख्ने नेपाली हरु खेलाडीको सवालमा एकजुट भएर जाने गर्दछौं, तसर्थ खेलकुद जीवनमा अत्यन्तै महत्त्वपूर्ण भएको उहाँको भनाई छ ।

नेपालको संविधानले शिक्षा र स्वास्थालाई मौलिक हकका रुपमा स्थापित गरेको छ । दिनानुदिन विद्यार्थीहरु बाहिर पलायन भैरहेका छन । बाहिर जाने विद्यार्थीलाई बाहिर जानबाट रोक्न सरकारले पहल गर्ने स्वास्थ्यमन्त्री खनालले बताउनु भयो ।

लमही नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, पालिकास्तरीय अन्तर विद्यालय प्रतियोगिता आजबाट लमही नगरपालिकामा शुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्नु भएको हो । यस प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक र निजि विद्यालय गरि बीस वटा विद्यालयले भाग लिएका छन । कपर्दी, भलिबल, दौड र रिले दौड, सटपुट, भाला फ्याक्ने, लङ जम्प, ट्रीपल जम्प, हाइ जम्प र कराँते खेल समावेश गरिएको छ ।


नेपाल पत्रकार महा संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका प्राचार्य कुलचन्द्र पौडेल, देउखुरी बहुमुखी क्याम्पस लमहीका अध्यक्ष लालविर खड्का, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, जिल्ला खेलकुद विकास समिती दाङका सदस्य अनिल रिजाल, लमही नगरपालिकाका पुर्व नगर उपप्रमुख देवका बेल्बासे, पुर्व नगर प्रमुख कुल बहादुर केसी लगायतले बोल्नु भएको थियो ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशकाका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण खीम बहादुर माध्यामिक विद्यालयका शिक्षक शेर बहादुर डिसी र राप्ती माध्यामिक विद्यालय उच्चनिम्बुका शिक्षिका सीता आचार्यले गर्नु भएको थियो । कार्यक्रममा विद्यालयहरुले विभिन्न भाषाका गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।
२९ वटा विद्यालयले झाँकी जुलुस प्रदर्शन गरेका थिए । झाँकी जुलुसमा आदर्श नमूना माध्यमिक विद्यालय देउपुर प्रथम, माध्यामिक विद्यालय फल्कापुर द्वितीय र आधारभुत विद्यालय बालोदय सुनडबरी तृतीय भएका थिए । आज भएको एक सय मिटरको दौडमा (आधारभुत विद्यालय) तर्फ खीम बहादुर शाह माध्यामिक विद्यालयका छात्र समीर चौधरी प्रथम, सुर्यविनायक माध्यमिक विद्यालयका शिवम परियार द्वितीय र बालजनता माध्यामिक विद्यालयका आशिष् चौधरी तृतीय भएका छन । त्यस्तै छात्रा तर्फ खीम बहादुर शाह माध्यमिक विद्यालयका आकृती चौधरी प्रथम, अर्जुन माध्यमिक विद्यालय हसनपुरका सुस्मिता चौधरी द्वितीय र जइन्द्र सिंह बोर्डिङ स्कुलका सबिना थापामगर तृतीय भएका छन ।

आज २४ गतेबाट शुरुभएको कार्यक्रम २७ गतेसम्म संचालन हुने छ ।