सगरमाथाले ‘प्राकृतिक स्रोत’को पढाई खोलामा पढायो

दाङ, १९ पुस । पढेको भन्दा देखेको कुरा छिटो बुझिन्छ र दीगो रहन्छ । त्यसैलाई मध्येनजर गरि दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलले ‘प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोग’का विषयमा खोलाको किनारमा पढाएको छ ।
विद्यार्थीहरुलाई खोलाको किनारमै लिएर पढाउँदा प्राकृतिक स्रोतको संरक्षण गर्ने कुरामा बढि ध्यान केन्द्रित हुने भन्दै त्यसरी नै पढाएको प्रधानाध्यापक छबिकुमार वलीले बताए ।
त्यसरी पढाएको विद्यार्थीहरुले पनि सहज तरिकाले बुझेका थिए । कक्षा ७ पढ्ने गौरब भुषालले खोलामै आएर पढ्न पाउँदा सजिलो गरी बुझ्न पाएको बताए । ‘प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोगका बारेमा खोलामै आएर पढ्न पाउँदा बुझ्न पाएका छौँ ।’ उनले भने-‘खोलामै आएर पढ्न पाउँदा खोलाको सरंक्षण गर्नुपर्ने कुरा सिकेको छु , यसबाट धेरै फाइदाहरु रहेछन् ।’

यस्तै कक्षा ७ मा पढ्ने अन्जली नेपालीले कक्षामा भन्दा प्रत्यक्ष देखेर पढ्दा धेरै कुरा बुझेको बताइन् । ‘सरले कक्षा कोठामा पढाउँदा खेरी होला तो भन्ने लाग्थ्यो , सत्यकुरा फिल्डमै आउँदा झन् धेरै बुझ्ने मौका पाएको छु’ उनले भनिन् ।

विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यालयले विषयवस्तु अनुसार फिल्डमै गएर पढाउन थालेको बताए । ‘विषय अनुसार फिल्डमै गएर पढाउने सायद नेपालमा हामी नै पहिलो हौँ।’ उनले भने-‘विद्यार्थीलाई किताबी ज्ञान बन्द कोठाबाट मात्रै दिनुभन्दा विषयवस्तु अनुसार फिल्डमै गएर पढाउँदा विद्यार्थीले सहजरुपमा बुझ्ने अपेक्षा छ ।

पाठ्यवस्तु अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमको बुधबार औपचारिकरुपमा शुरुवात गरेको हो । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्राकृतिक स्रोत साधन संरक्षण समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रममा वडा अध्यक्ष भण्डारीले विद्याथीलाई विषय अनुसार फिल्डमै गएर पढाउने कार्यक्रमले विद्यार्थीले बाहिरी कुराको ज्ञान सजिलोसंग हासिल गर्ने बताए । ‘पाठमा भएका कुरा कक्षाकोठामा मात्रै सिकाउँदा प्रभावकारी हुँदैन् ।’ उनले भने-‘पाठ अनुसार कक्षा फिल्डमै पढाउँदा निकै प्रभावकारी हुन्छ ।’ उनले वातावरणको संरक्षण र उपभोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई मोबाईल चलाउनेमात्रै नभएर मोबाईलमा विश्व समुदायमा भएका कुराको बारेमा बुझ्न आग्रह गरे ।

रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले विद्यार्थीलाई व्यवहारिकरुपमा ज्ञान सिकाउनमा सगरमाथा स्कुलको भूमिका प्रभावकारी बन्दै गएको बताए ।

विद्यालयका प्रधानाध्यापक वलीले विद्यालयले विद्यार्थीलाई पाठमा भएका कुरालाई वास्तविकरुपमा बुझाउनका लागि फिल्डमै गएर पढाउन कार्यको शुभारम्भ गरेको बताए । उनले यस कामलाई निरन्तरता दिने बताए ।