दाङको राप्ती प्रतिष्ठानमा ट्युमरको सफल शल्यक्रिया

दाङ, १४ पुष ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी ट्युमरको सफल शल्यक्रिया (अपरेशन) भएको छ ।
प्रतिष्ठानका अर्थोपेडिक सर्जनहरु डाक्टर विकास न्यौपाने, डा. ऋषि श्रेष्ठ, डा. रुपेश शेरचन, डा. सुबर्ण श्रेष्ठ सहितको स्वास्थ्यकर्मि र नर्ससहितको टाेलिले दाहिने हातको सोल्डर जोइन्ट र क्याल्भिकल हड्डी र ह्युमरससँग जोडिएको अनावश्यक मासु अपरेशन गरी फालेको हो ।


बिरामीका अनुसार विगत ९ वर्षदेखि दाहिने कुमको मासु देखाउँदै धेरै ठाँउमा चेकजाँच गर्दा पनि उक्त समस्या समाधान हुन नसकेपछि उनी डा. न्यौपानेलाई भेट्न प्रतिष्ठान पुगेका थिए । बिरामी आफ्नो उपचारकोक्रममा दाङका निजि अस्पतालसहित भरतपुर, नेपालगञ्जसम्म पुगेका थिए । न्यौपाने नेतृत्वको चिकित्सकको टाेलिले प्याथोलोजीष्ट र एमआरआईको सहयोगमा रोगको पहिचान गरेर सफल शल्यकृया गरेका हुन ।
डा. न्यौपानेले उनलाई सरल र सहज ढंगले सजिलै सम्पूर्ण प्रक्रिया पूरा गरी अपरेशन गर्न सुझाव दिएअनुरुप बिरामी अपरेशन गर्न मञ्जुर भएका थिए । उनको अपरेशन सफल भएको छ । बिरामिको अबस्था सामान्य रहेको र दाहिने हातको कुम राम्रोसंग चलाउने गरेको डा. न्यौपानेले बताए । विरामी घोराहीको बुद्ध हस्पिटलको इमरजेन्सीमा कार्यरत छन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आधुनिक प्रविधिको प्रयोग गर्दै लुम्विनी प्रदेशका विभिन्न स्थानीय तहहरुका सर्वसाधारणहरुले सरल र सहज ढंगको स्वास्थ्य सेवा पाउने व्यवस्था गर्दै आएको छ ।