आजाद खड्का
१. परिवर्तनको अर्थ
उपयोगिताको विचार गरी कुनै वस्तुलाई बढाउने वा नयाँ रूप दिने काम, सुधार्ने काम, एक थरी रूप, अवस्था, गुण आदिबाट अर्काे थरी रूप वा गुणको अवस्था आदिमा बदलिने वा रूपान्तरित हुने कामस हेरफेर, अदलाबदली अथवा कुनै युगको अन्त र नयाँ युगको आरम्भलाई परिवर्तन भनिन्छ । परिवर्तन दुई तरिकाका (मात्रात्मक परिवर्तन र गुणात्मक परिवर्तन) हुन्छन् ।
(क) मात्रात्मक र गुणात्मक परिवर्तण
मात्रात्मक परिवर्तन भनेको वस्तुमा बदलाब आउनु वा रूपमा बद्लिनु तर, गुणमा परिवर्तन नभई उस्तै हुनुलाई भनिन्छ । जस्तै एक कसौरी चिसो पानी अगेनामा बसालेर आगो बाल्यो भने १०”, २५”, ४५”,७०” हुँदै ९९” डिग्री सम्म जाँदा पानी चिसो बाट तातो पानीमा बदलिन्छ । यो परिवर्तन रूपमा भएको हो, गुणमा होईन । किन कि पानीको रूप चिसोबाट तातोमा बद्लियो तर गुणमा परिवर्तन नआई पानी नै रह्यो । यो परिवर्तनलाई मात्रात्मक परिवर्तन भनिन्छ । पानी तातिदै जब १००” पुग्छ । त्यतिबेला पानी रूपमा नभई गुणमा परिवर्तन हुन्छ । पानीको गुण वाफमा बदलिन्छ । गुणमा परिवर्तन हुनलाई सारमा परिवर्तन भनिन्छ । यो गुणात्मक परिवर्तन हो ।
(ख) राज्यसत्तामा परिवर्तन
राज्यसत्ताको परिवर्तन पनि दुई प्रकारको हुन्छ । राज्यसत्ताका उपरिसंरचनालाई मात्र परिवर्तन किन गर्नुलाई मात्रात्मक परिवर्तन भनिन्छ । उपरिसंरचना राज्यसत्ताको रूप पक्ष हो । यसलाई राज्यसत्ताको सामान्य सुधार भनिन्छ । किन कि उपरिसंरचना राज्यसत्ताको अनुहार हो । मात्रात्मक आन्दोलन वा संघर्षले युग बदल्दैन बरू चलिरहेको युगलाई सामान्य सुधार मात्र गर्छ । अनुहारमा देखिएको दागलाई सामान्य डेन्टिङ, पेन्टिङ गरे पनि चिटिक्क देखिन्छ । यसका लागि सामान्य संघर्ष गरे पुग्छ । यो वर्ग संघर्ष त हो तर, उच्च स्तर होईन । वर्गसंघर्षको उच्चतम रूप गुणात्मक परिवर्तनका लागि मात्र प्रयोग गरिन्छ । गुणात्मक परिवर्तन गर्नु भनेको युग बदल्नु हो । अझ सजिलो भाषामा भन्नू पर्दा राज्यसत्ताको जग (आधार) भत्काएर नयाँ जग बसाउनु र त्यहि जगका आधारमा राज्यसत्ता निर्माण गर्नु र उपरिसंरचनाहरूलाई परिचालन गर्नुलाई गुणात्मक परिवर्तन भनिन्छ ।
(ग) राज्यसत्ताको आधार र उपरिसंरचना
– आधार : राज्यसत्ताको जग (आधार) भनेको त्यस राज्यसत्ताले अंगिकार गरेको उत्पादन प्रणाली हो । यसरी हेर्दा अहिलेको राज्यसत्ताको “पुँजीवादी उत्पादन प्रणाली” हो ।
– उपरिसंरचना : राज्यसत्ताको उपरिसंरचना भनेको छानो हो । यसले पुँजीवादी उत्पादन प्रणालीलाई राज्यसत्ताको आधार (जग) मानेर त्यसको रक्षाका लागि काम गर्छ। आधार अनुकुल चल्ने राज्यसत्ताका सम्पूर्ण अंगहरू उपरिसंरचना हुन् । ती हुन् : दर्शन, सिद्वान्त, विचार, सरकार, सेना–प्रहरी, प्रशासन, संविधान, कानुन, अदालत, सदन, राजनीतिक दल, विभिन्न आयोग, शिक्षा, धर्म, भाषा, संस्कृति, साहित्य–कला आदि ।
२. उत्पादन प्रणाली भनेको के हो ?
हामीले माथि पनि स्पष्ट भनेको छौं कि उत्पादन प्रणाली भनेको राज्यसत्ताको आधार हो । राज्यसत्ताले जस्तो उत्पादन प्रणाली अपनाउछ । राज्यसत्ताको चरित्र पनि त्यस्तै हुन्छ । राज्यसत्तामा रहेको उत्पादक शक्ति र उत्पादन सम्बन्धको कुल योगफल उत्पादन प्रणाली हो । नेपालको उत्पादन प्रणाली दलाल चरित्र सहितको ‘पुँजीवादी उत्पादन प्रणाली’ हो । उत्पादन सम्बन्धका तीन आयाम – उत्पादनका वस्तुमा हुने स्वामित्वको प्रश्न, मानविय सम्बन्ध र वितरणको स्वरूप हुन् ।
यी तीन आयामको कुल योगफल नै उत्पादन सम्बन्ध हो । यहि उत्पादन सम्बन्ध र विद्यमान उत्पादक शक्ति मिलेर उत्पादन प्रणाली हुने हो । उत्पादक शक्तिका दुई आयाम–मानविय श्रम र उत्पादनका साधन हुन् । यी दुवै आयामलाई मिलाउदा उत्पादक शक्ति बन्छ । मानिसले उत्पादनका लागि प्रयोग गर्ने वस्तु (जमिन, फ्याक्ट्र, उद्योग वा कम्पनी) र ती उत्पादक वस्तुमा प्रयोग गरिने औजार मिलेर उत्पादनको साधन बन्छ ।
यसरी बनेको उत्पादन प्रणालीलाई राज्यसत्ताको आधार (जग) भनिन्छ । राज्यसत्ताको आधार बनेको उत्पादन प्रणालीको अनुकुलतामा राज्यसत्ता सञ्चालन हुन्छ र यसका उपरिसंरचनाका सम्पूर्ण अंगहरू त्यहि आधार अनुकुल चल्दछन् । यसरी परिचालित भएर राज्यसत्ताले गर्ने काम नै शासन हो। यो विषय नबुझी राज्यसत्तामा हुने परिवर्तन मात्रात्मक हो कि गुणात्मक भनेर पत्ता लगाउन सकिँदैन । हामीले २०६२/६३ को आन्दोलनबाट राजतन्त्र ढल्नु र “संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल” निर्माण हुनुलाई मात्रात्मक परिवर्तन मान्ने कि गुणात्मक ? यो विषयमा प्रष्ट हुन राज्यसत्ताको मापन गर्न बनेको मानक अनुसार अध्ययन गर्नु पर्दछ । त्यो मानक भनेको राज्यसत्ताको आधार र उपरिसंरचनाको अध्ययन अनिवार्य सर्त हो।
(३) नेपालको पहिलेको अवस्था
‘औपचारिक अर्थमा सार्वभौम भनिए पनि नेपाल यथार्थमा करिब २०० वर्षदेखि अर्धऔपनिवेशिक स्थितिबाट गुज्रिरहेको छ । अंग्रेजसँगको कुख्यात सुगौली सन्धि पछि कायम भएको यो स्थितिले नेपालमा सामन्तवादको गर्भबाट पूँजीवादको स्वभाविक विकासलाई अवरूद्ध ग¥यो । कृषि, व्यापार, विनिमय आदिद्वारा आत्मनिर्भर अर्थतन्त्र तिर अघि बढिरहेको नेपाली समाजमा वैदेशिक पूँजीको प्रवेशद्वारा तहसनहस हुने प्रक्रियाको शुरूवात त्यतिबेलैबाट भएको हो । वैदेशिक पूँजीको स्वार्थ मुताविक केही स–साना उद्योग धन्दाहरूको विकास गरिए पछि नेपाल सामन्ती स्थितिबाट क्रमशः अर्धसामन्ती स्थितिमा परिणत भयो ।’ (नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का ऐतिहाँसिक दस्तावेजहरू पृ…) यो नेपालको अवस्था भनेको मानव समाजको विकासक्रमको तेस्रो चरण हो ।
पहिलो चरणमा मानव पनि पशु सरह थियो । संघर्षकै माध्यमबाट मानव समाज पशुजगतबाट माथि उठ्न सफल भयो । आदिम साम्यवादीबाट दास मालिक युग नामक दोस्रो विकासक्रममा प्रवेश ग¥यो । दास मालिक युग क्रुर र अमानविय व्यवस्था थियो । दासहरूको विद्रोहबाट सामन्तवादी युगमा प्रवेश ग¥यो । समाज सामन्तवादबाट पनि अघि बढेर १७७६–१७८३ सम्म अमेरिकी स्वतन्त्रता संग्राम र १७८९ देखि १७९९ सम्म फ्रान्सेली राज्य क्रान्ति भए पछि संसार पुँजीवादी युगमा प्रवेश गरेर पुँजीवादको पनि चौथो उपयुग वा चरणमा प्रवेश गरेको छ ।
नेपालीहरू पनि सत्तासिन शासकवर्गको हर तिकडमसंग संघर्षगर्दै पराजय विजय प्राप्त गर्दै हिडेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा वि.सं. २००७ सालको राणा शासन विरोधी आन्दोलन, २०२७/२८ साल देखि एमाले (तत्कालिन कोअर्डिनेशन केन्द्र) को झापा विद्रोह र २०४६ सालको पहिलो जनआन्दोलन यहि अर्ध सामन्ती र अर्ध उपनिवेशिक व्यवस्थाका विरूद्व लडेका थिए ।
झापा विद्रोह त त्यतिकै तुहिन गयो । सात सालको आन्दोलन र ४६ सालको आन्दोलनबाट गुणात्मक नभई मात्रात्मक परिवर्तन भयो । मात्रात्मक परिवर्तण राज्यसत्ताको आधारमा नभई उपरिसंरचनामा भएको सामान्य फेरबदल (सुधार) थियो । त्यो अन्ततः आधारको अनुकुल हुन बाध्य भयो । राजाले ‘कु’ गरेर खाईदिए । ती आन्दोलनले राज्यसत्ताको मुख्य मेरूदण्ड सेना (जसलाई राजकिय अधिकार भनिन्छ ’ लाई राजाको हातमै छोडेर सेना विनाको नक्कली सार्वभौमसत्ता जनतामा आएको कांग्रेस–एमालेले डंका पिटेर जनता झुक्क्याएका थिए । तत्कालिन राजा महेन्द्रले २०१७ पौषमा र ज्ञानिन्द्रले २०५९ साल माघ १९ गते ‘कु’ गरेर सत्ता खोसिदिए । धोकाको यो अनुभव सहित जनताले १० वर्षिय महान माओवादी जनयुद्वको माध्यमबाट अगाडि बढेका हुन् ।
४. नेपालको अहिलेको अवस्था
यहि धोकाबाट पाठ सिक्दै नेकपा (माओवादी) को नेतृत्वमा पिडित र राज्यसत्ताबाट ठगिएका जनताले २०५२ फागुन १ गतेबाट जनयुद्वको शंखघोष गरे । २०६३ मंसिर ५ गते सम्म विभिन्नरूपमा १० वर्षिय जनयुद्व नेपालको राज्यसत्ताको जग (आधार) अर्ध सामन्ती र अर्ध उपनिवेसिक उत्पादन प्रणालीको अन्त्य र नयाँ जनवादी उत्पादन प्रणाली लागू गर्ने कार्यनीतिक लक्ष्य र अन्ततः देशमा समाजवादी उत्पादन प्रणाली कायम गर्ने गरि गरेको महान जनयुद्वको जगमा २०६२/६३ को १९ दिने दोस्रो जनआन्दोलन भएको हो ।
दोस्रो जनआन्दोलनको बलमा अर्ध–सामन्ती तथा अर्ध–उपनिवेसिक उत्पादन प्रणाली ढालियो । त्यसका ठाउँमा नयाँ जनवादी उत्पादन प्रणाली कायम गर्नु पर्नेमा आत्मगत र वस्तुगत दुवै कारणले सकिएन । भुमण्डलीकृत पुँजीवादी (साम्राज्यवादी) विश्व व्यवस्थाको प्रभावका कारण ‘दलाल पुँजीवादी उत्पादन प्रणाली’ कायम हुन गयो । तर पनि यो राज्यसत्ताको आधार (जग) का रूपमा कायम भएको उत्पादन प्रणालीमा भएको परिवर्तन हो । अहिले राजकिय अधिकार सहित सार्वभौम सत्ता जनता रहने गरि ‘असली सार्वभौमसत्ता’ जनतामा आएको छ ।
– निष्कर्ष :
माथि गरेको विश्लेषणका आधारमा नेपालमा राजतन्त्र ढलेर त्यसको ठाउँमा ‘संघीय गणतन्त्र’कायम गर्नु गुणात्मक परिवर्तन हो । यो राज्यसत्तामा भएको आमूल परिवर्तन हो । यो परिवर्तनको जग नेकपा (माओवादी) नेतृत्वमा भएको महान जनयुद्व नै हो । त्यसैको जगमा भएको १९ दिने दोस्रो जनआन्दोलनको वलमा भएको परिवर्तन भनेको ‘संघीय गणतन्त्र’ हो । यो माओवादीको कार्यनीतिक लक्ष्य थियो । नयाँ जनवादी व्यवस्था भनेको पनि प्रगतिशिल पुँजीवादी व्यवस्था हो । हामीले त्यो ल्याउन नसके पनि ‘दलाल पुँजीवादी उत्पादन प्रणाली’ भएको पुँजीवादी व्यवस्था आएको छ ।
यो पनि उत्पादन प्रणाली माथिको परिवर्तन हो । माओवादी नेतृत्वपंक्ति आफ्नो कार्यनीतिक लक्ष्य प्राप्ती गर्न सफल भएको छ । जनयुद्व गरेर केही भएन भन्नेहरू बेठिक हुन् । संघर्ष गरेर आएको क्रान्तिकारी शक्तिलाई भड्काएर राजनीतिक व्यापार गर्नेहरूको खेल हो । हामी यो बाट सचेत हुदैै रणनीतिक लक्ष्य ः वैज्ञानिक समाजवाद प्राप्तीका लागि संघर्षको विकल्प छैन । त्यसका लागि वस्तुगतपक्ष तयार हुदैछ । हामीले आत्मगतपक्ष तयारी गर्न जरूरी छ । नेपालमा आत्मगतपक्षको कमजोरी छ । जति सक्यो समाजवादी शक्ति निर्माण, रक्षा र परिचालन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २३ माघ २०७९, सोमबार १२:५८ बजे