बबई गाउँपालिकामा अन्तरपालिका स्तरिय कबड्डी प्रतियोगीता सुरु

हापुरे, ८ पुष ।
दाङको बबई गाउँपालिकामा अन्तरपालिका महिला पुरुष कबड्डी प्रतियोगीता सुरु भएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोग र बबई खेलकुद परिषद्को आयोजनामा दाङको हापुरेमा प्रतियोगीता सुरु भएको हो । खेलकुद प्रतियोगीताका लागि जिल्ला कबड्डी संघले प्राविधिक सहयोग गरेको छ । प्रतियोगीतामा जिल्लाका सात स्थानीय तहका महिला तथा पुरुष खेलाडीको सहभागीता रहेको छ ।

खेलकुद प्रतियोगीताको शुक्रबार बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले उद्घाटन गर्नुभएको हो । प्रतियोगीतामा बबई, शान्तिनगर, दंगीशरण, गढवा र राप्ती गाउँपालिका तुलसीपुर र घोराही उपमहानगरपालिकाको सहभागीता रहेको छ । स्थानीय तहमा रहेका कबड्डी खेलाडीलाई प्रोत्सहान र हौसला दिनका लागि प्रतियोगीता आयोजना गरिएको बबई खेलकुद परिषद्ले जनाएको छ ।


शुक्रबार भएको पुरुष तर्फको पहिलो खेलमा घोराही उपमहानगरपालिकालाई पाराजित गर्दै बबई गाउँपालिकाले जित निकालेको छ भने पुरुष तर्फको दोस्रो खेलमा गढवा गाउँपालिकालाई पाराजित गर्दै राप्ती गाउँपालिकाले जित निकालेको छ ।

महिला तर्फ भएको पहिलो खेलमा शान्तिनगर गाउँपालिकालाई हराउदै घोराही उपमहानगरपालिकाले जित निकालेको छ भने महिला तर्फकै दोस्रो खेलमा गढवा गाउँपालिकालाई हराउदै बबई गाउँपालिका बिजयी भएको छ ।