सतबरियामा ५ सय ७४ जनामा सिकलसेल एनिमिया परिक्षण, ७८ जना पोजेटिभ

प्रिया स्मृती गजमेर
लमही, १५ पुस ।
लमही नगरपालिका–८ सतबरिया स्वास्थ्य चौकीमा आज सोमबार सिकलसेल एनिमियाको ५ सय ७४ जनामा गरिएको परिक्षणमा ७८ जनामा सिकलसेल एनिमिया पोजेटिभ देखिएको छ । लमही अस्पतालका ल्याव टेक्निसियन हिमाल आचार्यले दिएको जानकारी अनुशार परिक्षणका क्रममा पुष्टि भएका विरामीहरुको लमही अस्पतालमा पुनः रगत परिक्षण हुने छ, त्यसपछि बाहक र रोगी कति जना छन भन्ने थाह हुनेछ ।

खासगरी सिकलसेल रोगका दुई वटा अवस्था हुन्छन । १–बाहक र २–रोगी , बाहक आफैमा लक्षण देखिदैन तर यसले रोग सार्दछ भने रोगीले रक्त अल्पता, दुखाई, जेंडिस जस्ता लक्षण देखाउदछ र यसले रोग सार्ने काम गर्दछ । सिकलसेल एनिमियाका बिरामीहरुमा हात खुटटा र शरीरका जोर्नी दुख्ने, रगतको कमी हुने जस्ता लक्ष्यण देखिन्छ । यो बंशाणुगत रोग हो ।

सिकलसेल एनिमिया रोग लागे पनि जनचेतनाको कमी तथा आर्थिक अभावका कारणले उपचार सेवा पाउन नसकेका बिरामीहरुको पहिचान गरी उनीहरुलाई निःशुल्क उपचार सेवा पुराउने उद्देश्यले शिबिर आयोजना गरिएको संस्थाकी अध्यक्ष आशमानी चौधरीले बताउनु भयो । सिकलसेल एनिमिया रोग भए नभएको एकिन गर्नका लागि रगतको परीक्षण गर्नुपर्ने भएकाले रगतको नमुना संकलन गरिएको उहाँको भनाई छ ।

एक दिने शिविरलाई सम्बोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सिकलसेल एनिमियाका कारण हुने जटिलताबाट बच्न सबैलाई आग्रह गर्नु भएको छ । संक्रमण विरुद्ध खोप लगाउने, आँखाको नियमित परीक्षण गर्ने, रक्त अल्पतालको उपचार गराउनेतिर ध्यान दिन जरिरी रहेको बताउनु भयो । स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित औषधि सेवन गर्ने, पानी प्रशस्त्र मात्रामा पिउने, धेरै तनाब नलिने, सुर्तीजन्य पदार्थ तथा मदिरापान नगर्ने जस्ता केहि बुँदाहरु स्वास्थ्य विभागले दिएको निर्देश गरेको छ यी मापदण्ड पुरा गरेमा यो रोगबाट बच्न सकिने उहाँको भनाई छ ।


त्यसैगरी लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले थारु समुदायमा ठूलो चुनौतीका रूपमा देखा परेको प्राणघातक सिकलसेल रोगबारे जनचेतना फैलाउन र पीडित रोगीहरूको उचित स्याहार प्रवद्र्धनमा उत्प्रेरित गर्न राज्य गम्भीर हुनु पर्ने बताउनु भयो । गाउँ घरमै शिविरको आयोजना गरि स्थानीयलाई सेवा लिने मौका दिएकोमा ग्रामिण उत्थान केन्द्रलाई धन्यवाद दिनु भएको छ ।

कार्यक्रममा थारु कल्याणकारीणी सभा देउखुरीका कानूनी सल्लाहकार हल्लु प्रसाद चौधरी, मेट लाइफ नेपालका लुम्बिनी प्रदेश प्रमुख शशी पराजुली, वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसी, मेट लाइफ नेपालका सहायक प्रमुख अरुण बस्नेत लगायतले बोल्नु भएको थियो ।

थारु समुदायमा समस्याको रुपमा देखिएको सिकलसेल एनिमियाका बिरामीहरुको पहिचान र उपचारलाई प्रभावकारी बनाउन लमहीको सतबरियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, लमही नगरपालिका र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडको समन्वय र मेट लाईफ नेपाल पुल्चोक ललितपुरको आर्थिक सहयोगमा एक दिने शिविरको आयोजना गरिएको हो ।

ग्रामीण महिला उत्थान केन्द्र दाङकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षता, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा भएको शिविरमा सतबरिया स्वास्थ्य चौकीका प्रमुख ठाकुर भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो भने ग्रामीण महिला उत्थान केन्द्र दाङकी पार्वती बस्नेतले कार्यक्रमको संचालन गर्नु भएको थियो ।