शान्तिनगरको गौशालामा भोकै मर्न थाले गाई

पुर्ण बिबस कुसारी
शान्तिनगर, २२ असोज ।

दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ सिमसुन्दरपुरको गौशालामा रहेका गाईगोरु भोकभोकै मर्न थालेका छन् । जुन जनावरलाई हामीले राष्ट्रिय जनावरका रुपमा लिन्छौ त्यहि जनावरहरुलाई गौशालाको नाममा तारजालिको घेरामा हुलेर मार्ने गरिएको छ । त्यहाँका गाईगोरु खान नपाई दुब्लाएका छन्, भने केही गाईहरु गौशालामै मर्ने गरेका छन् ।

गौशाला भात्र मरेका गाईहरुलाई कुकुरले खाइरहेका हुन्छन् । गौशाला भन्ने बितिकै हामीले गाई गोरुहरुको संरक्षण गर्ने ठाउँ भन्ने बुज्छौ । गाई संरक्षण गर्नकैलागि शान्तिनगर गाउँपालिका वडा नं. २ को लगानीमा गौशाला निर्माण गरिएको हो । केही समय राम्रै सञ्चालनमा आएको थियो ।


तर, अहिले स्थानीय सरकारले चासो नदिदा गौशालामा रहेका गाई–गोरुहरुको अबस्था दयनीय रहेको स्थानीय मन बहादुर खत्रीको भनाई छ ।

गौशाला निर्माण भएपछि सुरुमा छाडा छोडिएका गाईगोरु ले आफ्नो बालीनाली खान छोड्ने भए भन्दै मख्ख परेका स्थानीयहरु अहिले भने गौशालामा रहेका गाईगोरुको हुल नै आएर आफ्नो बालीनाली नष्ट गरिदिएको भन्दै चिन्ता व्यक्त गर्ने गरेका छन् ।