राजधानी क्षेत्रको जग्गा फुकुवा सुरु

दाङ, २० मंसिर ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा फुकुवा सुरु भएको छ । लामो समयदेखि रोक्का रहेको जग्गालाई मालपोत कार्यालय लमहीले फुकुवाकालागि सूचना जारी गरेको छ । मालपोतले बुधबार सूचना जारी गरि फुकुवा सुरु भएको जानकारी दिएको हो ।

एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ता काट नहुने गरि (ससिम) कित्ता र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पतीको स्वरुप परिर्वतन गर्न नपाउने गरि फुकुवा भएको मालेपोत कार्यालय प्रमुख मानवहादुर कुवँरले जानकारी दिनुभयो ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको च.नं. ४२७ मिति २०८०/०८/१७ को पत्र, भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल काठमाण्डौको च.नं १४०८ मिति २०८०/०८/२० को पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को च.नं २३०९ मिति २०८०/०८/१२ को पत्र र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरी दाङ को च.नं १७ मिति २०८०/०८/१० को पत्र तथा मिति २०८०/०७/०१ को निर्णय समेतका आधारमा जग्गा फुकुवा गरिएको प्रमुख कुँवरले बताउनुभयो ।


राजधानी क्षेत्रमा पर्ने राप्ति गाउँपालिकाका सबै वडाहरु र गढवा गाउँपालिकाको वडा नं १, २ र ३ को जग्गा फुकुवा भएको हो । जग्गा फुकुवाकालागि स्थानीयले पटक–पटक आन्दोलन गरेका थिए ।

२० असोज २०७७ मा उक्त जग्गा रोक्का गरिएको थियो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेसंगै जग्गा रोक्का गरिएको थियो । राप्ती गाउँपालिकाको पुरै ९ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय समेत गरेको थियो । त्यो सबै जग्गा फुकुवा भएको छ ।