विद्यार्थीले भित्तामा कोरे महिला जागरणका सन्देश

तुलसीपुर, १७ मंसिर ।
तुलसीपुर मेट्रो कलेज बिएएलएलबी चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी रितु चौधरीले संविधानको पुस्तक बोकेर खुड्किलो उक्लिरहेकी महिलाको बिम्ब दिने चित्र पर्खालमा कोरिरहेकी थिइन् । संविधानले महिलालाई अधिकारप्रदत्त बनाएपछि उनीहरु अब्बल बन्दै गएको सन्देश उनको चित्रले दर्शाउथ्यो । ‘संविधानले महिलालाई अगाडी बढ्नमा निकै भुमिका खेलेको छ भन्ने देखाउन यो चित्र कोरेका हौं ’ उनलाई चित्र बनाउन साथ दिइरहेकी संगिता विकले भनिन् ।

त्यस्तै आफुमाथि परेको हिंसामा मौनता साँध्नुपनि एकप्रकारको हिंसा हो भन्ने सन्देश प्रवाह गर्ने चित्र कोरिरहेका थिए पाँचौ सेमेस्टरका विद्यार्थी प्रविन यादवको समुहले । समानताले मात्रै समृद्धि सम्भव छ भन्ने सन्देश थियो निराजन आचार्यको समुहले बनाएको चित्रमा । विद्यार्थीहरुले विभिन्न समुहमा विभाजित भएर विभिन्न सन्देश दिने चित्र कोरिररहेका थिए । उनीहरुले बनाएका सबै चित्रको सन्देश महिला हिंसा रोकौ , महिलालाई व्यवहारीक रुपमा अधिकार दिउँ भन्ने खालका थिए ।


पहिलो पटक कुचि समातेर चित्र कोरिरहेकी विन्दु अधिकारीले भावनाहरु चित्रमार्फत अभिव्यक्त गर्न पाउँदा खुसी भएको बताइन् । ‘चित्र सोचेजस्तो नभएपनि यसले प्रवाह गर्ने सन्देश महत्वपूर्ण हुुनपर्दछ’ उनकै समुहबाट चित्र कोरिरहेकी प्रतिक्षा विकले बताइन् ।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन भइरहदा कलेजमा कानून अध्ययनरत विद्यार्थीहरुले भित्तामा सन्देश प्रवाह गर्ने विभिन्न चित्रहरु बनाएको संयोजक विजय पोख्रेलले बताए । कलेजले १६ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको पनि उनले जानकारी दिए । ‘विद्यार्थीसँग जस्तो खालको प्रतिभा रहेको छ सोही अनुसारको चेतना जागृत गर्ने सन्देश हामीले प्रवाह गर्न खोजिरहेका छौ’ संयोजक पोख्रेलले भने ।