बबई ५ र ७ मा लैङ्गिक हिंसा विरुद्धको जनचेतनामुलक नाटक प्रदर्शन

हापुरे, १६ मंसिर ।
दाङको बबई गाउँपालिका वडा नम्बर ५ र ७ मा ३२ ओैं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ। गत मंसिर ९ गते बबई गाउँपालिकाको शभाहलमा उद्घाटन गरेर वडा केन्द्रित कार्यक्रम गर्ने बताएको बबई गाउँपालिका महिला बालबालिका शाखाले मंसिर १२ गते वडा नम्बर ७ को चरकमटिया र मंसिर १५ गते वडा नम्बर ५ को वडा कार्यालय परिसरमा जनचेतनामूलक नाटक प्रदर्शन गराएको हो ।

शुक्रबार बबई गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का वडा सदस्य नोखि डाँगीको अध्यक्षता तथा बबई ५ का वडाध्यक्ष हर्क बहादुर श्रीस मगरको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम तथा संगिना संरक्षण मञ्च नेपालका कलाकारहरुले अभिनय गरेको जनचेतनामूलक नाटक प्रदर्शन गरिएको थियो ।


संगिना संरक्षण मञ्च नेपालका महासचिव रामप्रसाद सुवेदीले लेखन तथा सम्पादन गरेको नाटकमा सन्तराम सुनार, राजकुमारी बुढा, लिला बुढाथोकी र जुनु खड्काले अभिनय गरेका छन् भने नाटकको निर्देशन अर्जुन परियारले गर्नुभएको छ।

बबई गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इश्वरा रावतले सञ्चालन गरेको कार्यक्रममा प्रशिक्षकका रुपमा दलित सेवा संघ दाङका कार्यक्रम संयोजक छवि परियार, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजय जंग थापा रहनुभएको थियो ।

गत मंसिर १२ गते वडा नम्बर ७ को चरकमटियामा कार्यक्रम गरिएकोमा आज वडा नम्बर ५ को वडा कार्यालयमा कार्यक्रम गरिएको हो । बाकि ५ वटा वडामा पनि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम तथा संगिना संरक्षण मञ्च नेपालको जनचेतनामूलक नाटक प्रस्तुत गरिने बबई गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इश्वरा रावतले बताउनुभएको छ ।