गणतन्त्रमाथि प्रहार

केही दिन अघि मात्रै काठमाडौंमा एक समूहले गणतन्त्रका विरुद्ध सभा ग¥यो । भलै त्यो आन्दोलन कमजोर थियो । विगतमा पनि राजा ल्याउनु पर्ने भन्दै पटक–पटक यस्ता खालका कार्यक्रमहरु सञ्चालन हुने गर्छन् । मुलुकमा जनताले लामो त्याग, तपस्या र बलिदानीले प्राप्त गणतन्त्रमाथि पटक–पटक यसरी प्रहार हुने गर्छ । यद्यपी जनताको शक्तिले ल्याएको यो ब्यबस्था उल्टिने कुरा त छैन । तैपनि पटक–पटक हुने यस्ता आन्दोलनले विदेशी शक्तिहरुको चलखेल हुन सक्ने कुरालाई आँकलन गर्न सकिन्छ ।

निरंकुश राजतन्त्र अन्त्य गरि मुलुकमा गणतन्त्र स्थापना हुनुकासाथै संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको छ । जसले गाउँघरमा सरकार ल्याएको छ । जनताका अधिकारहरु स्थापित भएका छन् । संविधान कार्यान्वयनकै चरणमा छ । समृद्धिको मार्गमा मुलुक अघि बढेको छ । यद्यपी अझै पनि मुलुकमा हुने गरेका भ्रष्टाचार, अनियमिता, लापरवाही जस्ता कारणले जनतामा वितृष्ण भने कायमै छ । बर्तमान सरकारले जनताको यो मनोभावनालाई राम्रोसंग बुझेको देखिन्छ । सरकारले थालेको शुसासनको अभियानले त्यसको संकेत गर्छ । तर, पनि यो अभियानलाई तुहाउन राजनीतिक दलहरु नै अघोषित रुपमा लाग्नुले मुलुकलाई अझै पछि धकेल्न खोज्ने तत्वहरु हावी हुन्छन्, की भन्ने त्रास भने हट्न सकेको छैन । मुुलुकले प्राप्त गरेको जुन उपलब्धी छ, यो उपलब्धी रक्षा गर्न मुलुकमा ब्याप्त भ्रष्टाचार अन्त्य नै हो ।


यो जनताले ल्याएको ब्यबस्था हो । यसलाई जोगाउन सरकारले जनताकै साथ खोजिरहेको छ । राजतन्त्र फाल्न जनताले जसरी साथ दिएका थिए, प्राप्त उपलब्धीलाई जोगाउन पनि जनताको उत्तिकै साथ चाहिन्छ । साभारः अग्रिम साप्ताहिक