तुलसीपुरमा क्यान्सरका बिरामी बढे    

तुलसीपुर, ३१ भदौ ।
दाङ तुलसीपुर उपमहानगरपालिकाबाट एक वर्षमा एक सय ३ जना क्यान्सरका बिरामीले निःशुल्क उपचारकालागि सिफारिश लिएका छन् । तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ बहादुर केसीका अनुसार गएको आर्थिक वर्ष २०८१/०८२ मा उक्त संख्यामा क्यान्सरका बिरामीले उपचारकालागि सिफारिश लिएका हुन् ।

एउटा पालिका भित्र यसरी एक सय भन्दा बढि क्यान्सरका बिरामीहरू हुनु दुःखद् कुरा रहेको उनले बताए । “पछिल्लो समय क्यान्सरका बिरामी निकै बढेका छन्, भन्ने यो एउटा बलियो तथ्यांक हो”,उनले भने ।  क्यान्सरका बिरामी हुनेमा बढि महिला रहेका छन् । महिला ५७ जना रहेका छन्, भने पुरुष ४६ जना रहेका छन् । त्यस्तै पालिकाबाट एक वर्षमा ३१ जना मृगौला रोग, ५१ जना मुटु रोग, १० जना सिकलसेल एनिमिया, २ जना हेड इन्जुरी र ५ जना स्पइनल इन्जुरीका बिरामीले सेवा लिएका छन् । उपमहानगरपालिका भित्र दुईसय २ जनाले यसरी निःशुल्क उपचारकालागि सिफारिश लिएका छन् ।

संघीय सरकारले विभिन्न ८ वटा रोग भएकाहरुलाई एक लाख रुपैयाँ बराबरको उपचार निःशुल्क गर्दै आएको छ, भने प्रदेश सरकारले २ लाखसम्मको निःशुल्क उपचार गर्दै आएको छ । त्यस्तै स्वास्थ्य बीमा मार्फत दुई लाखसम्मको उपचार निःशुल्क गर्दै आएको छ ।


९२ विपन्न नागरिकलाई उपचारको सिफारिश
उपमहानगरपालिकाले एक वर्षमा ९२ जना विपन्न नागरिकलाई उपचारकालागि सिफारिश गरेको छ । सूचना अधिकारी केसीका अनुसार विभिन्न ११ रोगको निःशुल्क उपचारकालािग उपमहानगरपालिका भित्रका ९२ नागरिकलाई सिफारिश गरेको हो  । साभारः अग्रिम साप्ताहिक