दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दाङ, १९ कार्तिक ।
दाङमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। मुगुबाट काठमाडौँ जाँदै गरेको बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले लमही नगरपालिका–८ सतबरीयामा साइकल यात्रीलाई ठक्कर दिँदा सोही वडाका गणेशपुर निवासी ५५ वर्षीय भिमसेन थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

ठक्करबाट घाइते थारुलाई उपचारको लागि लमही अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


यस्तै, मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका–५ निवासी २३ वर्षीय राजेश देवकोटा घाइते भएका छन्। उनलाई लमहीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि नेपालगन्ज लगिएको छ।

मोटरसाइकलको पछाडि बसेका संखुवासभा पाँचखपन नगरपालिका–७ निवासी २३ वर्षीय सुदिप थापासमेत घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको छ।