घोराही,तुलसीपुर,लमही सडक खण्डमा बन्ने चारलेन सडकको नयाँ डि.पि.आर.ले अन्तिम रुप पाउँदै

दाङ, १९ कार्तिक ।
घोराही,तुलसीपुर र लमही सडक खण्डमा निर्माण हुने चारलेन सडकको डि.पि.आर.लाई पूर्णता दिन छलफल सुरु गरिएको छ । सडक विभाग र सडक सुधार आयोजना कार्यालयले छलफल थालेको हो ।

घोराही तुलसीपुर सडक खण्डको यसअघि बनाईएको डि.पि.आरमा खोला, पुल र धेरै जस्तो स्थानमा दुईलेन भएको हुदा त्यसलाई परिमार्जन गर्न छलफल थालिएको सडक विभागका महानिर्देशक सुशिलबाबु दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार अब लमही,घोराही र तुलसीपुरमा बन्ने सडक चारलेनको हुने गरी डि.पि.आर तयार हुदैछ ।

जस अन्तरगत दायाँ बाँया गाडी गुड्ने भाग १५/१५ मिटर र फुटपथका लागि २ दशमलव ५ मिटरको रहने जानकारी दिनुभयो । यस्तै पुल महाशाखाले उक्त सडक खण्डमा बन्ने पुलको पनि डि.पि.आर तयार गर्न लागेको सडक सुधार आयोजनाका प्रमुख ज्ञानेन्द्र झाँले जानकारी दिनुभयो ।


नयाँ डि.पि.आरको बिषयमा पटक-पटक छलफल भईरहेको भन्दै तिहार लगतै डि.पि.आरलाई पूर्णता दिई लमही,घोराही र तुलसीपुर सडक खण्डको टेण्डर प्रकृयामा जाने प्रतिकृया दिनुभयो । लामो समयसम्म सडकमा परेको खाल्डा खुल्डीले सर्वसाधारणलाई समस्या हुदा उक्त सडक मर्मत सम्भार गरिएको छ ।

सडक बनाउँन संचार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले निरन्तर चासो दिदै आउनु भएको छ । घोराही, तुलसीपुर, लमही सडक मर्मत गर्न संचार मन्त्री रेखा शर्माले करिव ४ करोड रुपैयाँ बजेट ब्यबस्थापन गर्नु भएको छ ।