दीपक बोहरा
दाङ, १६ कार्तिक ।
लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको सिरमा छ देवीकोट । त्यहाँ रहेको देवीकोट मन्दिर, देखिने सेताम्मे हिमाल र तराईका फाँटले छुट्टै आनन्द दिन्छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले उत्तम ठाउँका रुपमा लिइएको देवीकोट देउखुरी उपत्यकाबाट ८ किलोमिटर मात्रै उकालो चढ्नु पर्छ । त्यसपछि देवीकोटको पहाडी हावापानीको आनन्द लिन सकिन्छ । देउखुरीमा स्थायी राजधानी भएपछि देवीकोटलाई नै पर्यटनको गन्तब्यका रुपमा लिन सकिने लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताए ।“देउखुरी क्षेत्रमा राजधानी आएपछि १२ वटै जिल्लाको केन्द्र भयो, अब यहाँ आउने हरेकलाई रमणीय ठाउँ चाहिन्छ”,उनले भने“त्यो ठाउँ देवीकोट हो ।”
स्थायी राजधानी देउखुरीको मौरीघाटबाट जान कच्ची सडक छ । तर, त्यहाँ पुगेपछि देवीकोट मन्दिरको दर्शन गर्न सकिन्छ । ऐतिहासिक भएपनि त्यो मन्दिरको भौतिक संरचना भने प्रयाप्त मात्रामा निर्माण गर्न सकिएको छैन । मन्दिरको पर्खाल भत्किएको छ । सोही ठाउँमा सतिदेवीको बाँया घुँडा पतन भएको किम्बदन्ति रहेको छ । तर, पनि त्यहाँ आबश्यक संरचना तयार नहुँदा भक्तजनहरुको त्यति धेरै आकर्षण छैन । सोही ठाउँमा मन्दिरका अन्य संरचना निर्माण तथा मन्दिर निर्माणस्थलको जमिन जोगाउन तर्फ ध्यान दिनुपर्ने पालिका अध्यक्ष प्रकाश विष्टले बताए ।“मन्दिर निर्माण स्थलमा पनि पहिरो गएको छ, अन्य संरचना पनि निर्माण भएका छैनन्”,उनले भने“यसमा संघ र प्रदेश सरकारले चासो दिनुपर्छ ।”
त्यहाँ विद्युतको पोल र तार जडान गरिएको छ, तर, विद्युत अझै बल्न सकेको अबस्था छैन । कच्ची सडक छ, तर, सहज यातायात छैन । खानेपानीको पनि समस्या छ । यी सबै समस्या समाधान भएमा प्रदेशको पर्यटनको एउटा गन्तब्य बन्न सक्ने अध्यक्ष विष्टको भनाई छ । प्रदेश राजधानीदेखि नजिकै भएकाले जो कोही पनि सोही ठाउँमा गएर दर्शन गर्न सक्ने उहाँको भनाई छ । त्यहाँबाट सिस्ने हिमाललगायत अन्य हिमसृङ्खलाहरु पनि देखिने, पहाडहरुको अवलोकन गर्न पनि पाइने र भारतका केही भू–भाग पनि देख्न सकिन्छ ।
त्यहाँ स्थानीय ढिडो, रोटी, स्थानीय जातका कुखुरा, खसीलगायतका खानेकुराहरु पनि पाइन्छन् । त्यसले गर्दा होमस्टेको पनि राम्रो सम्भावना भएको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । प्रदेश राजधानी भएको क्षेत्रबाट स्वर्गद्धारी समेत जोडिने सडक त्यहाँबाटो हुँदै जाने भएकाले पनि यसको सम्भावना रहेको उहाँको भनाई छ ।“प्रदेश राजधानी भएको ठाउँबाट देवीकोट–हुँदै प्यूठान स्वर्गद्धारी समेत जान सकिने गरि सडकको काम अघि बढेको छ”,उनले भने“त्यसो भएमा प्रदेश राजधानीलाई पर्यटनसंग जोड्न पनि सहज हुन्छ ।” उनले राजधानी क्षेत्रका चुरेपहाडहरुलाई ‘हिलसाइड’का रुपमा विकास गरिने समेत बताए । साथै देवीकोटमा प्यागोडाशैलीको मन्दिर निर्माण गर्न सकिने उनले बताए । मन्त्री मास्कीले बहुबर्षिय योजनामा हालेर सोही मन्दिरको ब्यबस्थापन गर्ने बताए ।
प्याराग्लाइडिङ निर्माणमा निजि क्षेत्र आकर्षित
देवीकोटमा प्याराग्लाईडिङ निर्माण गर्न तर्फ पनि निजि क्षेत्रले चासो देखाएका छन् । प्रदेश सभामुख घर्तीका अनुसार केही दिन अघि सोही स्थानमा अध्ययन अबलोकनकालागि आएर फर्किएका छन् । यदि प्याराग्लाईडिङ निर्माण भएमा आम्दानीका स्रोतहरु पनि बढ्नुकासाथै स्वरोजगार सिर्जना हुने उनले बताए । “केही दिन अघि मात्रै यहाँ प्याराग्लाइडिङको टोली अध्ययनकालागि आएको थियो, मैले देवीकोटमा अध्ययन गर्न भनेको हुँ”,उनले भने । देवीकोटमा होमस्टेको अवधारणा अनुसार अगाडी बढ्नु पर्ने समेत उनले बताए ।
लाइभदाङ । १६ कार्तिक २०८०, बिहीबार १२:३२ बजे