चारलेनका टिप्पर ‘ढुंगा’ बोकेर चखौरातिर दौडिएपछि…

दाङ
१५ असोज / अबैद्य रुपमा ढुंगा ओसारपसार गरिरहेको अबस्थामा दाङ तुलसीपुर ८ अस्वारा निवासी अनुप पाण्डेका चारवटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर १९ छिल्लीकोटबाट सिधै दंगीशरण गाउँपालिकाको चखौरासम्म लिने क्रममा ति टिप्परलाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वारका अनुसार चारलेनको प्रयोगकालागि ल्याईएको ढुंगाहरु रहेको बुझिएको बताए । उनीहरुको साथबाट कुनै कागजात फेला नपारेपछि नियन्त्रणमा ल्याईएको उनले बताए । बालापुर प्रहरी चौकीले नियन्त्रणमा लिएका ति टिप्परहरु अष्टभैरव कम्पनीका रहेका छन् । ढुंगा ल्याएको स्थान र कहाँ लैजान लागेको हो भन्ने कुरा पुष्टि गर्ने कागजात बोक्नु पर्छ । क्रसर उद्योगबाट ल्याएको हो भने पनि त्यहाँको विल वोक्नु पर्ने भएपनि उनीहरुले केही पनि बोकेका थिएनन् ।

तर, चार लेन निर्माणका पेटी ठेकेदारका रुपमा रहेका सुनिल खत्रीले यसमा आफूहरुलाई जोड्नुपर्ने कुनै कारण नै नरहेको बताएका छन् । प्रदेश २०३००१ (ख) १८७१, प्र २०३००१ (ख) १७२५, प्र २०३००१ (ख) १८७६ र प्र २०३००१ (ख) १८८१ नम्बरका टिप्परहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति टिप्परहरु अष्टभैरव कम्पनीका रहेपनि आफूहरुले नारायणपुर निवासी अवित केसीलाई भाडामा दिएको बताएका छन् । यी टिप्पर हिजो नै प्रहरीले नियन्त्रणमा लिएको स्वीकार गर्दै भाडामा दिईसकेपछि चारलेनसंग जोड्न नहुँने उनको भनाई छ ।‘हामीले नारायणपुर निवासी अवित केसीलाई भाडामा दिएका थियौं’,उनले भने‘भाडामा लिइसकेपछि हामीसंग जोडनु उचित होईन् ।’ एक दिनकालागि भाडामा दिएको उनले बताए । त्यसमा पनि छिल्लीकोटबाट चारलेनकालागि ढुंगा लैजाने आफूहरुलाई अनुमति पनि नभएको उनले बताए ।


अहिले अष्ट भैरव कम्पनी मार्फत नै चारलेनको काम हुँदै आएको छ । तिनै टिप्परले चारलेनकालागि ढुंगा, गिट्टीलगायतका सामग्री ओसार–पसार गर्दै आएका छन् ।

घोराही–तुलसीपुर चारलेन निर्माणको काममा विलम्ब गरेको भन्दै उक्त कम्पनी विवादित बनेको थियो । सुरु–सुरुमा चारलेन निर्माणको काम तिब्रगतिमा अघि बढेपनि पछि भने एकाएक ठप्प भएको थियो । करिब एक बर्षसम्म ठप्प भयो । जसले गर्दा सोही सडककै कारण चारजनाको मृत्यु समेत भयो । यसले गर्दा पनि पाण्डेलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसंग जोडेर विवादमा तान्न खोजिएको छ ।

अनुप पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन् । यस अघि चारलेन निर्माणको पेटी ठेकेदारको जिम्म अष्टभैरव मार्फत उनले नै लिएका थिए । यही चारलेनकै कारण तुलसीपुर उपमहानगरपालिकाका मेयरको राजनीतिक भबिष्यसंग पनि जोड्ने गरिन्छ । काम सक्नुपर्ने समयमा अहिले पनि ६÷७ प्रतिशत भन्दा बढि काम हुन सकेको छैन । काम सुरु भएपनि त्यसले गति लिन सकेको छैन ।