सुरक्षित तुलसीपुरको अभियान थालौ

घरबाट खुकुरी लिएर एक ब्यक्ती काम गरिरहेका तीन जनालाई प्रहार गर्छन । एक जनाको मृत्यु हुन्छ । लगतै १४ वर्षीया बालिकामाथि उमेर फर्केका बुढाले बलात्कार गरेको खबर आउछ । कहिल्यै बसमै बलात्कार, कहिल्यै अपहरण, कहिल्यै पोकाका पोका लागुऔषध ओसारपसारका खबरहरु आइरहन्छन् । त्यतिमात्रै होईन्, सवारी दुर्घटनाका घटना पनि उत्तिकै बढिरहेका छन्, भने चोरी डकैतिका पनि उत्तिक घटनाहरु हुन्छन् । यस्तै कारणले पनि तुलसीपुर असुरक्षितका रुपमा वर्णन गर्ने गरिन्छ । तुलसीपुर शहर असुरक्षित मध्येको सहर भएकै कारण बाह्य लगानी भित्रिन सकेको अवस्था छैन । तुलसीपुरमा हुने विभिन्न अपराधिक घटनाहरुले नै तुलसीपुरलाई असुरक्षितले परिचित बनाएको छ ।

यस्ता परिचयले तुलसीपुरलाई नै धुमिल्याएको छ । अपराधिक गतिविधि अपराधिक मानसिकताको उपज हो । यहाँका बुद्धिजिवी,अगुवाहरूको पनि अस्वस्थ्य गतिविधि हुन्छन् । यस क्षेत्रको अस्तित्वकालागि कसैलाई चिन्ता छैन । कोही पनि तुलसीपुरलाई सुरक्षित बनाउन चहादैनन् । बरु उल्टै समाजलाई नै नैराश्य बनाउने तर्फ लाग्छन् । एकले अर्कालाई खुट्टा तान्ने, अरुले गरेका राम्रा कामलाई पनि स्वीकार गर्न नसक्ने र अर्कालाई जसरी हुन्छ, दवाउने खालका गतिविधि बढि तुलसीपुरमै हुन्छन् । तुलसीपुरमै बढि अस्वस्थ राजनीति छ, अस्वस्थ ब्यबसायिक प्रतिस्पर्धा छ, अस्वस्थ मानसिकता छ, त्यसले गर्दा नै तलदेखि माथिसम्म अपराधिक गतिविधिहरू बढिरहेका छन् ।


सभ्य समाज निर्माण गर्न हरेक ब्यक्ती सभ्य बनाउनुपर्छ । कतै हामी–हामी आफ्नै कारणले त तुलसीपुरमा यस्ता गतिविधिले बढावा पाइरहेका छैनन्, भन्ने कुरा यहाँका अगुवाहरूले सोच्न जरुरी छ । हामीले नै समाजलाई सही मार्गमा हिडाईरहेका छौं, की द्वन्द बढाईरहेका छौं, भन्ने कुराको ख्याल नहुँदा पनि यस्ता गतिविधि बढिरहेका हुन्, की भन्ने कुरा बुझ्न जरुरी छ । सभ्य समाज हामीले निर्माण गर्ने हो । यही क्षेत्रका नागरिकले नै समाजलाई सही मार्गमा लैजाने हो, गलत छापलाई मेट्न एकताबाट मात्रै सम्भव हुन्छ । साभारः अग्रिम साप्ताहिक