राजनीति पनि समाजसेवा नै हो । तर, पछिल्लो समय राजनीति होस्, या अन्य सामाजसेवा नै, सबै स्वार्थकेन्द्रित भएको देखिन्छ । जब मानिसलाई अभाव हुन्छ, त्यो अभाव निस्वार्थ भावनाले पूर्ति गर्नु नै समाजसेवा हो । तर, अहिले समाजसेवा निकै स्वार्थकेन्द्रित र भड्किलो बन्दै गएको छ । हरेक समस्यामा समाजसेवाका नाममा धेरै ब्यक्तीहरु जुर्मराउने गर्छन् । कोरोना महामारीकै सन्दर्भमा एक बोरो चामल बोकेर पीडित समक्ष पुग्ने गरेका इतिहास पनि छन् । आवश्यकता भन्दा निकै न्यून रकम लिएर पीडितसंग फोटो खिचेर भाइरल गर्ने प्रबृतिका समाजसेवा छन् । यस्ता कार्यले पीडितलाई झनै पीडा दिने गरेको छ । यस्तै प्रबृति देखेर कोरोनाको पहिलो र दोस्रो महामारीको सन्दर्भमा सरकारले एकद्वार प्रणालीबाट राहात वितरण गर्न थाल्यो । तर, पनि नाममात्रका समाजसेवीहरु जुर्मुराउन थाले । किनकी पीडितकहाँ पुग्ने राहात सरकारलाई उपलब्ध गराउने र त्यो राहात सरकारले आफै वितरण गर्ने भएपनि आफ्नो फोटो नआउने भयो । फोटो ल्याउनकै लागि सरकारसंग लुकिलुकी समाजसेवा गरेको पनि देखियो ।
समाजसेवाका नाममा पीडित समक्ष पुग्दा, पीडितलाई हौसला हुने वातावरण सिर्जना हुनुपर्छ । तर,अहिले पीडित हौसिने होईन्, पीडित नै भाग्नुपर्ने स्थित आएको छ । पीडितको आत्मसम्मानमा आँच पुग्नेगरि हामीले व्यवहार गरिरहेका हुन्छौं । धेरै पीडितहरु आफ्नो फोटो लिन मानिरहेका हुँदैनन् । तर, समाजसेवाका नाममा हामीले दिने सानो राहातमा पीडितको ठूलो फोटो आउँदा त्यसले उनीहरुको आत्मसम्मानमा निकै असर परिरहेको हुन्छ । हामी प्रविधिको युगमा छौं । हामीले फोटो हाल्दा उनको टाढाको आफन्तले सामाजिक सञ्जाल मार्फत फोटो नियालिरहेका हुन्छन् । पीडितको पनि ब्यक्तिगत जीवन हुन्छ । समाजमा उनीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न सकिरहेको हुँदैन् । त्यसैले हामीले कसैको आत्मसम्मानमाथि चोट पुग्ने कार्य गर्नुहुँदैन ।
यति भनिरहदा निस्वार्थ समाजसेवा गर्ने पनि धेरै हुनुहुन्छ । जसलाई फोटो भन्दा बढि पीडितको भावनामाथि ख्याल हुन्छ, समाजप्रति उत्तरदायि हुन्छ । समाजसेवा समाज विकासकालागि अपरिहार्य कुरा पनि हो । स्वार्थ कम, प्रभाब बढि पार्ने गरि समाज रुपान्तरणकालागि हामी सबैले समाजसेवा गर्न आवश्यक छ । समाजको सेवा जसलाई, जहाँ पनि चाहिन सक्छ । त्यसैले यो कार्यलाई मर्यादित र व्यबस्थित बनाउन तर्फ सबै लागौं । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २६ असार २०८०, मंगलवार १२:२० बजे