दुर्घटनामा मृत्यु भएका वावु छोराको एउटै चितामा अन्त्येष्टी

दीपक बोहरा
दाङ,८ असोज ।
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टी गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टी गरिएको स्थानीय सागर रोकाले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ ग्वारखोला टोलका ५० बर्षीय गणेश बुढा वुवा र २५ बर्षीय भक्तबहादुर (छोरा) को एउटै चितामा अन्त्यष्टी गरिएको हो ।

दुबै जनाको सल्यान कपुरकोटमा गाउँपालिका ३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो । आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अबस्थामा सोमबार विहान साढे ६ बजेतिर जीप अनियन्त्रित भइ पल्टिदा घटना स्थलमै मृत्यु भएको थियो । छोराले गाडी चलाईरहेका थिए, भने वुवा सोही गाडीमा सवार थिए ।

उनीहरु दुबै जना बाबुछोरा सल्यान, रोल्पा लगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल,नारायणघट,बाँकेलगायतका बजारमा बेच्दै आएका थिए । उनीहरू पाँच बर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीले बताए ।


दुबै बाबुछोरा लामो समयदेखि तरकारी ब्यबसाय गर्दै आएका थिए । “उहाँहरु लामो समय छोराले गाडी चलाउने, वुवा संगै हिड्ने गर्नुहुन्थ्यो”,वडाध्यक्ष वलीले भन्नुभयो“रोल्पा, सल्यानबाट तरकारी ल्याएर बेच्ने गर्नुहुन्थ्यो ।”

रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खस्दा टुक्राटुक्रा परेको थियो । सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका-२ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका थिए ।