सल्यान दुर्घटनामा मृत्यु हुने दुबै जना तुलसीपुरका

दाङ,८ असोज । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका दुबै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटना स्थलमै मृत्यु भएको हो ।

त्यस्तै घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-२ निवासी ३५ वर्षीय नारायण योगी रहनु भएको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मृतक दुबै जनाको शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ ।


रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउदै गरेको जीप राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । सोमबार बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा परेको जिप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भीक अनुसन्धानले पत्ता लगाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।