तुलसीपुरमा पनि अस्पतालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प

तुलसीपुर,३१ भदौ ।
नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेको हो । सोही अनुरुप राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलगायत तुलसीपुरका अन्य अस्पतालहरुले पनि सेवा ठप्प पारेका छन् ।

सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा भोलि आकस्मिक बाहेकका सेवा सञ्चालनमा आएका छैनन् । सरकारले डाक्टर कुट्नेलाई कारबाही गर्नुको साटो मेलमिलाप गराउन खोजेको र घटनालाई गम्भीर रुपमा नलिएको चिकित्सक संघको आरोप छ ।

गएको साउन २५ मा डेंगीबाट ज्यान गुमाएका हेटौँडा-१२ का राजेश प्रधानका आफन्तले सञ्चो अस्पताल हेटौँडाका डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटेका थिए । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघका पदाधिकारीको भनाई छ ।


उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको संघको दाबी छ । कुटपिटमा संलग्न मृतक राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।