कर अधिकृत सापकोटालाई अख्तियारको जिम्मा लगाइयो

दाङ, २५ भदौ ।
बाँकेको नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जलाई जिम्मा लगाइएको छ ।

रकमको स्रोत खुलाउन नसकेपछि कर अधिकृत सापकोटालाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नारायण डाँगीले जानकारी दिए।


श्री एयरलायन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै गरेको अवस्थामा सोमबर बिहान उनको झोलामा रहेको २६ लाख नगदसहित प्रहरीले पक्राउ गरेको थियो। प्रवक्ता डाँगीका अनुसार नगदसहित पक्राउ परेका सापकोटालाई जिल्ला प्रहरी कार्यालय पुर्याएर स्रोत खुलाउन समय दिइएको थियो। तर, उनले आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि अख्तियारको जिम्मा लगाइएको हो ।

प्रहरीका अनुसार सोमवार बिहान काठमाडौं जाने क्रममा उनले विमानस्थलको स्क्यानिङ मेसिनमा झोला चेक गराउने क्रममा मेसिनले पत्ता लगाएको थियो। सापकोटासँगै रहेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरकै कर अधिकृत दीपक पौडल भने फरार रहेको प्रहरीले जनाएको छ।