कुराउनी बेचेरै घर घडेरी 

तुलसीपुर, २० असार ।
दाङको तुलसीपुर उपमहानगर–पालिका–३ प्रतापकोट निवासी भविश्वर दाहालले वर्षौैँदेखि कुराउनी बेचेरै जिविका चलाउँदै आएका छन् । ७० वर्षको उमेरमा पनि उनले कुराउनी बेच्न छाडेका छैनन् । कुराउनीले उनको जिविका मात्रै धानेको छैन, घर–घडेरीसमेत जोडेका छन् । “कुराउनी बेचेको पैसाले नै यहाँका तीन जना धनाढ्यको जग्गा किनेँ”, उनले भने, “एउटा पूरै डाँडो किनेको हुँ ।” अहिलेसम्म एक करोड बढिको जग्गा किनेका उनले भर्खरै तुलसीपुर–३ कै डाँडाखुट्टी र बराखालीमा २८ लाखको घर र जग्गा किनेका छन् ।

केही वर्षअघिसम्म उनले कुराउनीका लागि २० वटासम्म भैँसी पालेका थिए । उनले उत्पादन गरेको कुराउनी तुलसीपुर र घोराही बजार मात्रै नभएर सल्यानको श्रीनगरसम्म बिक्रीका लागि पुग्ने गथ्र्यो । कुराउनी बनाउनमा उनी जिल्लामै चर्चित छन् । “मैले कुराउनी बेचेर जीवन मात्रै चलाएको छैन, सबैथोक यही कामबाट गर्न सकेँ । मैले जीवनभर यही काम गरेँ”, उनले भने ।

अहिले उनले दुई वटा भैँसी पालेका छन् । उनले बनाउने कुराउनी अहिले पनि घोराही र तुलसीपुर बजारमा बिक्री हुन्छ । “पहिले–पहिले त सल्यान श्रीनगरसम्म पठाएँ, घोराही–तुलसीपुरमा आफै हिँडेर नै कुराउनी पु¥याउथेँ”, उनले भने, “अहिले छोरालाई बजारसम्म कुराउनी पठाउन लगाउँछु ।” अहिले बजारमा किलोको पाँच सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । उनीहरुले हप्तामा तीन पटकसम्म बजारमा कुराउनी पठाउने गर्दछन् । जिल्लाका विभिन्न ठाउँमा कुराउनीको माग पनि उत्तिकै रहेको उनले बताए । उनले विगत ३५ वर्षदेखि यसरी कुराउनी बेच्न थालेका हुन्।


विगतमा हप्तामा ७५ किलोसम्म बजारमा पठाउने गरेको र  हाल भैसी पनि थोरै पालेका ५ किलोको हाराहारीमा बजारमा पठाउने गरेको उनले बताए । उनले मासिक एक लाखसम्मको कुराउनी बेच्ने गरेको बताए । त्यसबाट सबै खर्च कटाएर ५० हजार भन्दा बढिको आम्दानी गर्दै आएको उनको भनाई छ । उनका पाँच छोराहरू छन् । सोही ठाउँ कुराउनीकालागि प्रसिद्ध ठाउँ हो । उनी भन्दा अघि पनि सोही ठाउँका गबुलाल कडेँल र गोपिराम कडेँलले पनि कुराउनी बनाएर बजारमा पठाउने गर्दथ्ये । उनीहरुको निधन पछि दाहालले नै यो पेशा अंगाल्दै आएका छन् । साभारः अग्रिम साप्ताहिक