तुलसीपुरमा केही सुधारका अभ्यास

तुलसीपुर उपमहानगरपालिकामा चालु आर्थिक बर्षकालागि विकासे बजेट न्यून छ । विगतको तुलनामा विकासे बजेट न्यून हुँदा वडा–वडामा विकासका काम ठप्प छन् । कुनै समय डेढ करोडसम्म जाने वडाहरुमा अहिले १८ लाख मात्रै विकासे बजेट गएको छ । विगतको तिर्नुपर्ने दायित्व र आन्तरिक आम्दानीलाई चुस्त नबनाउँदा यसरी ऋणमा डुब्नु पर्ने अबस्थाको सिर्जना भएको हो ।

अहिले उपमहानगरपालिकाको तिर्नुपर्ने रकम २५ करोडको हाराहारीमा छ । तर, यो आर्थिक बर्ष भित्र सक्ने उपमहानगरपालिकाको लक्ष्य छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी आएपछि सुधारका धेरै अभ्यासहरु भएका छन् । फजुल खर्चहरु कटौति भएका छन्, भने चुहावट रोकिएका छन् । उपमहानगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरुकै मिलेमत्तोमा नदी तथा खोलाहरुमा नदीजन्य पदार्थ डम्प गरि राखिएको थियो । ब्यक्तीको घर तथा अन्य कामकालागि उक्त नदीजन्य पदार्थ डम्प गरेको अनुगमनका क्रममा भेटिएको थियो ।


अनगुमनका क्रममा त्यस्तो भेटिएपछि त्यसलाई राजश्वको दायरामा ल्याईएको थियो । यसरी धेरै नदीजन्य पदार्थलाई राजश्व छलि गर्ने गरिएको थियो । त्यो कार्य अहिले न्यून भएको छ । त्यस्तै उपमहानगरपालिकाबाट विकास भन्दा पढि वितरणका कार्य भएका थिए । पटक–पटक यो बिषयमा सञ्चार माध्यामले दवाव दिएपछि त्यो कुरा पनि न्यून हुँदै गएको छ । तुलसीपुर बसपार्क स्थित कोसेली घरबाट भाडा लिइने भएको छ । विगतमा आम्दानीका स्रोतहरु चुहावट भएकोमा अहिले भने ति चुहावट रोक्ने काम भइरहेको छ । यसले गर्दा आम्दानी बढ्ने र आगामी बर्षदेखि विकासले तिब्रता लिन सक्छ ।

आन्तरिक आम्दानीलाई पनि स्थानीय सरकारले ध्यान दिनुपर्छ । धेरै स्थानीय सरकारले आम्दानीका स्रोतमा ध्यान दिएको पाईदैन । संघ र प्रदेशलगायतबाट प्राप्त हुने अनुदानको आशमा स्थानीय सरकारहरु रहनेगर्छन् । तर, आफ्ना आम्दानीका स्रोतहरु पहिचान गरेर त्यसबाट आम्दानी लिन सकिरहेको अबस्था छैन । जसले गर्दा पनि अहिले स्थानीय सरकारहरुले सोचे अनुरुप विकास गर्न सकेको छैनन । साभारः अग्रिम साप्ताहिक