सबै खोलामा पुल माग्नु भएको थियो, मैले बजेट हाल्दिए : मन्त्री मास्की

तुलसीपुर, १६ भदौ ।
लुम्बिनी प्रदेशका अर्थ मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले पश्चिम दाङलाई समृद्ध दाङ बनाउने बताए ।

अहिले अल्प बिकसित भएर सबैले दाङको कर्णाली भन्ने गरेको भन्दै अब पश्चिम दाङलाई समृद्ध दाङ नामले चिनिने बनाउने बताए । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत शान्तिनगर गाउँपालिका वडा नं. ३ मा भएको कार्यक्रममा सहभागी जनाउँदै मन्त्री मास्कीले यस्तो बताए ।

आफू चुनाबको बेला घर घर जाँदा जनताले पश्चिम दाङ पुग्ने सबै खोलामा पुल माग गरेकाले यस पटक सबै खोलामा पुल हालिदिएको समेत बताए । साथै गंगटे पुग्ने सडकदेखि गाउँ-गाउँमा बिकासका लागि बजेट आएको उनको भनाई थियो ।


उनले पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नतीका लागि ४३ करोड बजेट आएको भन्दै तत्काल सडक स्तरबृद्विको काम अघि बढ्ने बताए । पश्चिम दाङमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको समेत बताए । माओवादीले काम गर्ने तर, प्रचार नगर्ने भएकाले पनि पछि परेको बताए । ‘माओवादीले बिकासका काम गर्छ’, उनले भने ‘तर, अर्कैले प्रचार गरिदिन्छ ।’ माओवादीकै कारण मुलुक समृद्धिको मार्गमा अघि बढेको कुरा जनतालाई बुझाउन यो अभियानले थालिएको उनको भनाई छ ।

अहिले भ्रष्टाचार बिरूद्व माओवादीले अभियान थालेको भन्दै त्यसलाई जनताले साथ दिनु पर्ने बताए । जनताले साथ दिए मात्रै यो अभियानले सफलता दिने भन्दै यसमा साथ दिनु पर्ने बताए ।

पार्टीका वडाध्यक्ष बिरबहादुर बिकको आयोजनामा भएको कार्यक्रममा पाटीका पालिका सहसचिब हिरा सुनारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण देवराज मल्लले गरेका थिए ।