लमही अस्पतालमा एपेन्डिसाइटिसका बिरामीको सफल उपचार

लमही, १४ भदौ ।
एपेन्डिसाइटिसका बिरामी अन्यत्र जानु नपर्ने लमही अस्पतालले बताएको छ । देउखुरीकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको लमही बजारमा अवस्थित लमही अस्पतालमा आउने एपेन्डिसाइटिसका बिरामीको शल्यक्रिया लमही अस्पतालमै हुँदै आएको भन्दै बिरामीहरु अन्यत्र अस्पतालमा जान नपर्ने जानकारी गराएको हो ।

हिज मात्र एउटा एपेन्डिसाइटिसको केस आएको थियो त्यो केस पनि सफल भएको छ’- लमही अस्पतालका निमित्त मेसु डाक्टर महेश सिलवालले भने । एपेन्डिसाइटिसका बिरामीहरु शल्यक्रिया गर्नका लागि अन्यत्र जान पर्दैन, लमही अस्पतालमा सहजै उपचार र शल्यक्रिया हुन्छ’- डाक्टर सिलवालले भने । यस अघि पनि झन्डै डेढ दर्जन बढी एपेन्डिसाइटिस भएका बिरामीको सफल उपचार भैसकेको डाक्टर सिलवालको भनाई छ ।

लमही अस्पतालमा थोरै खर्चमा पनि एपेन्डिसाइटिसको शल्यक्रिया र उपचार हुन्छ, टाढा गैर समय खेर नफाल्न र समयको बचत हुने भएकोले देउखुरी क्षेत्रका बिरामीलाई लमही अस्पताल बाटै सेवा लिने लमही अस्पताल प्रशासनले आग्रह गरेको छ ।


लमही अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । निमित्त मेसु डाक्टर महेश सिलवाल, डाक्टर साजन श्रेष्ठको टोलीले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए ।

अचानक अत्याधिक पेट दुख्यो, लमही अस्पतालमा डाक्टरसंग चेकजाँच गर्दा एपेन्डिसाइटिसको कारण दुखाई भएको भन्ने कुरा भयो त्यसपछि उहाँहरुको सल्लाहले अस्पतालमै शल्यक्रिया गर्न सकिन्छ भनेपछि लमही अस्पतालमै शल्यक्रिया गरेको हौ’- बर्षाका श्रीमान सिर्जन पौडेलले भने । अहिले बर्षाको स्वास्थ्य अवस्था राम्रो भएको पौडेलको भनाई छ ।

दुखाईबाट ग्रसित भएकी लमही नगरपालिका-५ की बर्षा श्रेष्ठलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । श्रेष्ठलाई डाक्टरले एपेन्डिसाइटिसका कारण पेटमा दुखाई भएको भनेपछि र अस्पतालमै शल्यक्रिया गर्न सकिने बताएका थिए । सबै प्रक्रिया पुरा गरेर लमही अस्पतालमै शल्यक्रिया गरेको श्रेष्ठका श्रीमान तथा लमही अस्पतालका ल्याब टेक्निसियन सिर्जन पौडेलले जानकारी दिए ।