गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर छ : मन्त्री मास्की

देउखुरी,११ भदौ ।
लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । गिद्ध संरक्षण अभियान दाङको आयोजनामा सोमबार भालुवाङमा भएको लोपन्मुख अबस्थामा रहेको गिद्ध संरक्षणकालागि लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।

मन्त्री मास्कीले गिद्ध संरक्षणसंगै लोपन्मुख प्रजातिका मौवा, सतिसाल, विजयसाललगायतकालागि ३ करोड २८ लाख बजेट विनियोजन गरेको बताउनुभयो । सरकारी स्तरबाट लुम्बिनी प्रदेश सरकारले नै यसरी बजेट बिनियोजन गरेको हो । यस अघि सरकारी स्तरबाट गिद्ध तथा लोपन्मुख बनस्पति संरक्षणकालागि बजेट बिनियोजन नभएको उहाँले बताउनुभयो । “यस अघि सरकारी स्तरबाट गिद्ध तथा अन्य लोपन्मुख बनस्पति संरक्षणकालागि बजेट विनियोजन भएको थिएन”,उहाँले भन्नुभयो“तर, हामीले विनियोजन गरेका छौं ।”

गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा रहेको भन्दै गिद्धले नै मानवलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाएको समेत बताउनुभयो ।


त्यस अवसरमा गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतले लुम्बिनीमा दाङ र लालमटियामा गिद्ध रेष्टुरेन्ट रहेको बताउनुभयो । साथै दाङमा नेपालमै एक मात्रै गिद्ध उपचार केन्द्र रहेको बताउनुभयो । नेपालभर हाल ७ वटा गिद्ध रेष्टुरेन्टहरु छन् ।

हाल पशुमा दिइने डाइक्लोफेनेक औषधीकै कारण गिद्ध हराउने अबस्थामा रहेको उहाँको भनाई थियो । साथै प्राकृतिक बासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतिय तारबारजस्ता कारणले पनि लोप हुने अबस्थामा रहेको बताउनुभयो ।
त्यस अवसरमा बन मन्त्रालयका अधिकृत धनश्वर न्यौपानेले अग्ला रुखहरुलाई संरक्षण गर्ने, सुरक्षित आहाराको ब्यबस्थापन गर्ने कार्य भइरहेको छ ।

त्यस्तै कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालीले सरोकारवाल, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन बन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणमा आधारमा सबै गैरसरकारी संघसंस्थाहरुको सहकार्यको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा १२ वटै जिल्लाबाट सहभागि थिए ।