उपमेयरले कुटे शिक्षा शाखा प्रमुख

रुकुम पश्चिम, १० भदौ । रूकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपमेयरले कार्यकक्षमै शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेका छन्।

उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा काम गरिरहेको समयमा शनिबार बिहान ११ बजेतिर कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार शिक्षा शाखा अधिकृत वलीले उपमेयर पुनले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो ।

शनिबार बिहान ११ बजेतिर कार्यालयकै काम गरिरहेको समयमा वलीलाई उपमेयर पुनले हातपात गरेको मुसिकोटको-१ को त्रिभुवन जनता माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले बताउनुभयो ।


‘उच्च माध्यमिक तहको लेखा विषयको शिक्षक पदपूर्तिको लागि प्रश्न पत्र बनाउने लगायत आवश्यक काम भइरहेको थियो,’ उहाँले भन्नुभयोे, ‘म काम विशेषले मेयरको कार्यकक्षमा प्रवेश गर्दा हल्लाखल्ला भएपछि गएर हेर्दा त्यहाँ वातावरण अलग भइसकेको देखेको थिएँ।’

आफू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा पुग्दा ल्यापटप भुइँमा खसेको, कागजपत्रहरू यत्रतत्र फालिएको र शिक्षा शाखा प्रमुखको आँखाभरि आँसु देखेको उहाँले बताउनुभयो ।

उपमेयर पुनले भने आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले गलत प्रचारबाजी गरेको बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित पुनले आफूलाई थाहा नै नदिएर मेयरको निर्देशनमा आफ्ना निकटका मानिसहरू नियुक्त गर्ने गरेको पाइएको हुँदा त्यो परीक्षा रोकिनु पर्छ भन्ने मनसायका साथ आफू गएको र त्यसलाई अनावश्यक बढाइ चढाइ गरी राजनीतिक रूपमा चरित्र हत्या गर्न खोजिएको उपमेयर पुनले बताउनुभयो । -सेतोपाटीबाट