तुलसीपुर बसपार्क तारबार गर्दा पनि चलखेल

दीपक बोहरा
दाङ, ६ भदौ ।
दाङको तुलसीपुर बसपार्कमा अपराधिक गतिबिधि बढेपछि उपमहानगरपालिकाले तारबार गर्न भनि ठेकेदारलाई भन्यो । बसपार्क ब्यबस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले उपमहानगरपालिकाको जग्गामा रहेको बसपार्क क्षेत्र अस्थायी रुपमा घेराबार गर्न थाल्यो ।

उपमहानगरपालिकालाई दिने भाडाबाट कट्टा हुने गरि ठेकेदार कम्पनीले तारबार गर्नकालागि उपमहानगरपालिकाको जग्गा छुट्याईदिन निवदेन लेख्यो । त्यसपछि उपमहानगरपालिकाका अमिन विक्रम गौतमले उपमहानगरपालिकाको जग्गा छुट्याइदिए । सोही अनुसार ठेकेदार कम्पनीले दुई हप्तादेखि टिनले बेर्न थाल्यो । जब बसपार्कको पूर्वतर्फ रहेको गुमानसिंह बुढाथोकी र रीता बोहराको घरमा तारबार गर्न थालियो, त्यहाँ विवाद भयो ।

विवाद पछि ठेकेदार कम्पनीले त्यहाँ केही दिन तारबार समेत गरेन । अमिन गौतमका अनुसार उनीहरुको घरलाई नै सटाएर तारबार गर्नुपर्ने हो ।‘मैले जग्गा छुट्याईदिन भनेपछि त्यहाँ गएर जग्गा छुट्याईएको थिए’,उनले भने‘उपमहानगरपालिकाको जग्गा भरि तारबार गर्ने हो भने उनीहरुको(गुमान र रीताको) घरलाई सटाएर तारबार गर्नुपथ्र्यो ।’

उपमहानगरपालिकाले २०५३ सालतिर विक्री गरेका ति जग्गामा पूर्ब तर्फमात्रै निकास राख्ने गरि तयार गरिएको थियो । तर, उनीहरुले उत्तर र पूर्व दुबै तर्फ निकास थियो । त्यही निकासलाई असर गर्ने गरि तारबार गर्न नदिएपछि भएको विवादले रोकिएको काम तुलसीपुरका केही वडाध्यक्ष र इन्जिनियर गएर पुनः सूचारु गर्न लगाए ।


वडा नं.३ का वडाध्यक्ष विरबहादुर विक, ५ का अध्यक्ष विरेन्द्र शाह , १८ का अध्यक्ष माधव वली र इन्जिनियर पवन योगी गएर त्यहाँका विवाद मिलाएपछि पुनः काम सूचारु भयो । तर, उपमहानगरपालिकाको जग्गा भन्दा करिब ५ मिटर छाडेर मात्रै तारबार भयो । अरुका निकास बन्द गर्ने तर, एउटा घरका लागि मात्रै निकास छोडिदिएपछि त्यहाँ असन्तुष्टि पैदा भएको छ । ‘त्यहाँ उपमहानगरपालिकाको जग्गामा रहेको बसपार्क वरिपरी तारबार गर्ने कुरा हो’, ठेकेदार कम्पनी प्रमुख भिमबहादुर बुढाथोकीले भने‘तर, वडाध्यक्षहरु र इञ्जिनियर आएर दवाव दिएपछि हामीले केही ठाउँ छोडेर तारबार ग¥यौं, यो एक दमै गलत भएको छ ।’

अहिले बनाएको संरचना अस्थायी भएकाले हाललाई ति घरलाई निकास दिइएको इन्जिनियर पवन योगीले बताए ।‘त्यहाँ निकास चाहियो भन्ने कुरा भयो’,उनले भने‘त्यसपछि वडाध्यक्षहरु र म गएर त्यहाँको समस्या समाधान गरेर आएका हौं ।’ बसपार्क असुरक्षित भएपछि तारबार गरेको भन्दै उनले भने‘कहिल्यै विकास भएन भन्ने, काम गर्दा अवरोध गर्ने काम भयो ।’

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले पनि अहिले बनाएको अस्थायी संरचना भएको भन्दै हाललाई ति घरलाई निकास दिएको बताए । खास तत्कालिन नगरपालिकाले २०५३ सालमा एउटा घडेरी भनेर विक्री गरेको थियो । छेउतिरको घडेरी भएपछि त्यहाँ घर निर्माण गर्दा पूर्व र उत्तर तिरबाट निकास दिएर दुईवटा घर बनाईयो । ति मध्ये पूर्व निकास तिर छोरी रीताको घर पर्छ, भने उत्तरतिर निकास पर्ने गरि पछाडी तिर अर्को घर उनका वुवा गुमानसिंहको पर्छ । त्यो जग्गा उनीहरु बाबुछोरीकै संयक्त नाममा मालपोतले पास गरेको छ ।

ठेकेदार कम्पनीले उपमहानगरपालिकालाई भाडामा दिने रकमबाट कट्टा गर्ने गरि बसपार्कमा प्रतिक्षालय, सेफ्टी ट्याङ्की र बसपार्क वरपर घेरवार गर्न लागेको हो ।