अपहरण र शरीर बन्धक आरोपमा दाङमा सात पक्राउ

दाङ, ४ भदौ । घोराहीमा एक जनालाई अपहरणपछि बन्धक बनाइ कुटपिट गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१३ सेवार बस्ने ४१ वर्षीय जीतबहादुर विकलाई आइतबार राति अपहरणमा परेका थिए । सोमबार बिहान उनलाई बन्धक बनाइ कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा घोराही-१९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिम बहादुर घर्ती मगर छन् ।

उनीहरुसँगै घटनामा संलग्नता आरोपमा दुई जना नाबालिगलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।


विकलाई राति अपहरण गरी रा १ ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही-१९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा राखेर कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जाहेरी लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको डीएसपी गौतमले बताए ।