दाङ–३ : कोमल वलीले भेटाउन सकिनन् दीपकलाई

दाङ, ६ मंसिर ।
दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक गिरीले अग्रता गरेका छन् । उनलाई एमालेकी उम्मेदवार कोमल वलीले भेटाउन सकेकी छैनन् । ६९०८ मत गन्दा गिरले २८८८ मत ल्याएर अग्रता कायम गरेका छन्, भने वलीले २३२५ मत ल्याएकी छन् । उनीहरुबीचको मतान्तर ५६३ रहेको छ ।

त्यस्तै स्वतन्त्र पार्टीका कमल सुवेदीले ११५५ मत ल्याएको अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए । क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता मध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं. ३ को भू–तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ ।


दाङ ३(१): डिल्ली चौधरी अगाडी
दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ मा गठबन्धनबाट काँग्रेसका डिल्ली चौधरीले ४३२ मतले अगाडी छन् । ६६२९ मत गन्दा चौधरीले ३००० मत ल्याएका छन्, भने उनका निकटतम प्रतिद्वन्दी एमालेका घनश्याम पाण्डेले २५६८ मत ल्याएका छन् ।
यो क्षेत्रमा ६६ हजार ४ सय ८६ मतदातामध्ये ४० हजार ५ सय ७० मत खसेको थियो ।

दाङ ३(२) : मास्कीको अग्रता
दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश)ले अग्रता लिएका छन् । ८१८३ मत गन्दा माओवादी केन्द्रका मास्कीले ३७३७ र एमालेका हुकुम बस्नेतले ३१८६ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ५५१ रहेको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।