लिङ्दुङ वडा कार्यलयको सामुदायिक अंक पत्र कार्यन्वयन कार्यक्रम सम्पन्न

गणेश बहादुर घर्ती
रोल्पा, ३१ साउन ।
रोल्पा जिल्ला त्रिवेणी गा.पा. वडा नं. ३ लिङ्दुङमा सामुदायिक अंक पत्र कार्यान्वयन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम वडा अध्यक्ष श्री तिला कुमारी वलि ज्यूको अध्यक्षतामा २ दिने अंक पत्र कार्यक्रम सञ्चालन गरिएको थियो भने सेवा प्रदायक, सेवाग्राही, विद्यालय प्रमुख, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, महिला स्वस्थ्य स्वंमसेबिका (FCHV), बुद्धिजीवी, सामुदायिक संस्था (CBOs) र टोल बिकास संस्थाहरुको सहभागी रहेको थियो ।

सामुदायिक अंक पत्र कार्यक्रम प्रारम्भिक कार्यबाट सुरु गरि वडामा भएको भौतिक, मौद्रिक र जनशक्तिको बारेमा टिपोट गर्दै सेवा प्रदायक र सेवाग्राही दुबै पक्षलाई राखेर स्रोत आँकलन गरिएको थियो । त्यसको लगत्तै सेवाग्राहीलाई मात्र राखेर वडाबाट हुने सेवा सुबिधाको आधारमा सेवाग्राहीले मूल्याकंन गरि अंक प्रदान गरेका थिए जसलाई हामी कार्यसम्पादन अंक तालिका भन्छौं । सेवाग्राहीको मूल्याकंन पश्चात् सेवा प्रदायकलाई छुट्टै राखी आफुले प्रदान गरेको सेवाको आधारमा आफू कत्तिको सन्तुष्ट छौँ त्यसको आधारमा आफ्नो मुल्यांकन गरि विभिन्न सुचकहरुमा अंक प्रदान गरि पहिलो दिन स्व–मुल्यांकन अंक तालिका गरिएको थियो।

बस्ती स्तरमा योजना छनोट गर्दा बजेट सिलिङ उपलब्ध हुनुपर्ने कुरा राख्दै विद्यालय स्तरमा पनि सामुदायिक अंक पत्रको लागि आवश्यक बजेटको ब्यवस्थापन गरि शैक्षिक सुधारका लगि जोड दिनु पर्ने सेवाग्राही तथा टोल बिकास समिती सचीव वकिल बहदुर वलिले बताउनु भएको छ।

हामी सेवाग्राही र सेवा प्रदायक मिलि राम्रो सेवा, राम्रो समाज र राम्रो संस्था बनाउन आफुबाटै सुरुवात गर्नुपर्ने अधारभुत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख मिरा रानाले बताउनु भएको छ । उहाँले थप्दै भन्नुभयो, “अरु कार्यक्रम भन्दा सामुदायिक अंक पत्र कार्यक्रम अलि राम्रो कार्यक्रम लाग्यो किन भने यसमा कमि कमजोरीसंगै सुधारका लागि सुझाव पनि प्रप्त हुने हुदा यसले गर्दा सेवा प्रदायक र सेवाग्राही मा दुरि नजिक हुन्छ साथै सुधारका लागि संयुक्त कर्ययोजना पनि बनाउने हुँदा कार्यन्वयन गर्न साथै पहल गर्न सहज हुन्छ ।”


वडाबाट प्राप्त हुने सेवा सुविधाको बारेमा, वडामा भएको भौतिक, मौद्रिक र जनशक्तिको बारेमा जानकारी हुनुका साथै विद्यालय स्तरमा सामुदायिक अंकपत्र कार्यक्रम लागू गर्ने कुराले खुशी भएको र शैक्षिक सुधारका लागि आफुले आफ्नो तर्फबाट पहल कदमी चाल्ने सरस्वती माध्यमिक विद्यालयका प्र.अ.लाल बहादुर घर्तिले बताउनु भएको छ।

यसै बिषयमा कुरा राख्दै वडा अध्यक्ष श्री तिला कुमारी वलीले भन्नुभयो, “यो सामुदायिक अंक पत्र कार्यक्रमले गर्दा हामीले सुचकहरु तयार परेका छौँ र हामीले के गर्दा अगाडि बढ्छौँ र के गर्दा पछाडी पर्छौ भन्ने कुरा स्पष्ट हामिलाई देखाउने गरेको छ र हामिले पनि अंक प्रदान गरिसकेका छौँ , हामी जनप्रतिनिधि भनेको जनता झ्यालबाट देखिने र बटोमा भेटिने प्रतिनिधि हो।”

अध्यक्ष वलीले आगामी दिनमा माटो परिक्षण सम्बन्धि, कृषि प्राविधिकको दरबन्दी परिपुर्ति, थ्रेसर मेसिनका लागि पहल गर्नुका साथै बिधालयमा चाँडै नै सामुदायिक अंक पत्र लागू गर्ने कुरा राख्दै कार्यक्रमलाई समापन तर्फ लग्नु भएको छ ।

दोस्रो दिन सेवा प्रदायक, बुद्धिजीवी, विद्यालय प्रमुख, स्वास्थ्य प्रमुख, राजनीतिक दल र सेवाग्राहीलाईसंगै राखी सेवाग्राही र सेवा प्रदायक दुबैले प्रदान गरेको अंकलाई समायोजन गर्दै १२ बटा सुचकहरुमा छलफल विधि द्वारा आम्ने–साम्ने बैठक सम्पन्न गर्नुका साथै संयुक्त कार्ययोजना तयार संगै ५ सदस्यीय अनुगमन समिति तयार परिएको छ भने यसको पुनः समुदाय अंक पत्र मुल्यांकन ६ महिना पछि गरिने छ।