दाङको धारपानीमा डिजिटल अभिलेखका लागि क्यूआरकोड जडान

विमल योगी
दाङ,१३ चैत्र ।
दाङको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीको डिजिटल अभिलेखका लागि क्यूआरकोड जडान गरिएको छ । घोराही उप महानगरपालिका पर्यटन शाखाको आर्थिक सहयोगमा मसोभिजन टेक्नोलोजी काठमाण्डौंले मन्दिरमा डिजिटल अभिलेखका लागि कहाँ नामक एप जडान गरिएको हो ।

एप जडानपछि क्यूआर स्क्यान गरेर मन्दिरको ऐहिासिक,पुरातात्विक,धार्मिक तथा अन्य गतिविधिका वारेमा सहजै जानकारी लिन सकिने मसोभिजन टेक्नोलोजीका फिल्ड प्रमुख अनमोलसिंह रावलले जानकारी दिनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी,सचिव विष्णुराम आचार्य लगायत समितिका पदाधीकारी तथा सदस्यहरुको उपस्थितिमा डिजिटल एप जडान गरिएको हो ।


सो अवसरमा बोल्दै अध्यक्ष अधिकारीले कहाँ नामको एप जडान भएपछि धारपानी मन्दिरको ऐतिहासिक तथा पर्यटन प्रवद्र्धनसंगै प्रचार प्रसारमा समेत ठुलो टेवा पुग्ने भन्दै यसमा सहयोग गर्ने घोराही उप महानगरपालिका र मसोभिजन टेक्नोलोजीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

धारपानी मन्दिरसंगै यस्तो खाको डिजिटल एप अम्वेकीश्वरी मन्दिर अम्वापुर,गोरक्ष रतननाथ मन्दिर चौघेरा,बाह्रकुने मन्दिर र घोराही उपमहानगरपालिका कार्यालयमा समेत जडान गरिएको घोराही उपमहानगरपालिका पर्यटन शाखा प्रमुख बालकृष्ण खनालले जानकारी दिनुभयो ।