दाङमा अदालतबाटै बन्दी फरार

दाङ
२३ भदौ / दाङमा अदालतबाटै एक बन्दी फरार रहेका छन् । सुनचोरी आरोपमा बुधबार घोराही १० नारायणपुरबाट पक्राउ परेका घोराही १७ निवासी २२ बर्षीय लक्ष्मण विश्वक्रम अदालतबाटै फरार भएका हुन् ।

विहीबार म्याद थप्नकालागि दाङ जिल्ला अदालत लगिएका उनी शौचालयको झ्यालबाट निस्केर फरार रहेका हुन् ।‘न्यायाधीशसमक्ष पेश गर्ने क्रममा उनले शौचालय जान्छु, भनेर गएछन्’,जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले भने‘त्यसपछि लामो समय नआएपछि ढोको फोरेर हेर्दा उनी झ्यालबाट भागेको पाइयो ।’ फरार रहेका उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । उनी अपरान्ह ४ बजेतिर शौचालय गएका हुन् । त्यसपछि करिब आधा घण्टासम्म बाहिर नआएपछि ढोका फोर हेर्दा फरार रहेको पाईएको हो ।


पक्राउ परेका ब्यक्तीलाई एक दिन भन्दा बढि हिरासतमा राख्नकालागि अदालतको अनुमति लिनु पर्ने भएकाले उनलाई म्याद थपकालागि विहीबार घोराही स्थित जिल्ला अदालतमा लगिएको थियो । अदालतमा लैजादा हतकडी फुकाउनु पर्छ । हत्कडी फुकाएको मौका छोपी उनी भागेको देखिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । उनका अनुसार अहिले सीसी टीभी हेर्ने काम भइरहेको छ ।