नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुल्यो

दाङ, २६ साउन  । नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५७ दिनपछि खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत असार ३ गते लगाएको ताला ५५ दिनपछि आज (शुक्रबार) खुलेको हो ।

विश्वविद्यालयका उपकुुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो । उक्त अवसरमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हेमन्त वञ्जाडेले विद्यार्थीका माग पुरा गरिदिएकोेमा विश्वविद्यालयप्रति आभार प्रकट गर्नुभएको छ । ‘विद्यार्थीहरुका जायज माग पुरा गरिदिएकोमा विश्वविद्यालयप्रति आभार प्रकट गर्दछौं’, अध्यक्ष वञ्जाडेले भन्नुभयो, ‘विश्वविद्यालयको विकासका लागि स्वतन्त्र विद्यार्थी युनियन सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

इन्टर्नसिप भत्ता बृद्धिको माग गर्दै ताला लगाएको स्ववियले आफ्ना माग पुरा भएको जनाउँदै ताला खोलेको जनाएको छ । विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डीन प्रा. डा. चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले नेपाल संस्कृत विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती तलवको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति भएको विश्वविद्यालयको वार्ता टोलीका सदस्य सचिव अनिल पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्णय २०८० साउनदेखि लागु हुनेछ ।



यसैबीच केन्द्रीय कार्यालयमा लागेको ताला खोल्ने स्वतन्त्र विद्यार्थी युुनियन केन्द्रीय आर्युवेद विद्यापीठको निर्र्णयलाई विश्वविद्यालयले स्वागत गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयलाई तालाबन्दी मुक्त गर्ने कार्यमा सहयोगी बनिदिन आह्वान गर्नुभएको छ ।

‘विद्यार्थी संगठनले विश्वविद्यालयमा कुनै अवरोध गर्दैनौं भन्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा विभिन्न समयमा हुने तालाबन्दी र अवरोधका कारण विश्वविद्यालय अस्तव्यस्त भइरहेका छन्’, उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो, ‘प्रतिबद्धता अनुसार विश्वविद्यालयलाई अवरोध मुक्त गर्ने कार्यमा सहयोग गरिदिनका लागि राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार, अधिकारकर्मी, स्थानीयबासी सबैमा अनुरोध गर्दछु ।’

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ दाङले गत असार ९ गते लगाएको ताला अझैं खुल्न सकेको छैन । ताला नखुल्दा विश्वविद्यालयले सञ्चालन गर्ने कर्मचारी, उपप्राध्यापक, सहप्राध्यापकका परीक्षा अनिश्चित हुँदा एक हजार बढी परीक्षार्थी मर्कामा परेका छन् ।