पुलै–पुलले जोडिदैछ ‘पश्चिम दाङ’: एकै पटक बन्ने छन्, ९ वटा पुल

टेकराज भण्डारी
दाङ, १५ साउन
पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरूमा पुल बन्ने भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न खोलामा पुल निर्माणकालागि बजेट विनियोजन गरेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ कालागि ९ वटा पुलमा बजेट विनियोजन गरेका छन् । दाङको विकट क्षेत्रका रूपमा रहेको गंगट पुग्न विभिन्न खोलामा पुल निर्माण हुनेछन् ।

जहाँ यस अघि पुल नहुँदा वर्षादको समयमा आवतजावत ठप्प नै हुने गरेको थियो । बबई गाउँपालिकाको हापुरेदेखि गंगटे पुग्न २३ किलोमिटर मात्रै हो । तर, वर्षादमा सडकबीचका खोलाहरूमा पुल नहुँदा उपचारलगायत अन्य कार्य गर्न एक दिन पैदल हिड्नु पर्ने बाध्यता थियो । त्यसलाई मध्येनजर गरि हापुरे–गंगटे सडकमा तीन वटा खोलामा पुल निर्माण हुने भएका छन् ।

रिम खोलीमा बेलीवृज पुलकालागि ५० लाख, तिनतलेमा बेलिबृज पुल निर्माणकालागि ५० लाख भांगावारीमा बेलिबृजकालागि ५० लाख बजेट छुट्याएको मन्त्री मास्कीले बताए । त्यस्तै  तुलसीपुर देखि हापुर जोड्ने सडक अन्तर्गत पर्ने तुलसीपुर १ भमके खोलमा पुल निर्माणकालागि १ करोड, शान्तिनगर ३ पातेटाकुरा खोलामा पुल निर्माणकालागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणकालागि १ करोड,  बबई गाउँपालिका अन्तर्गत राजीखरे खोलामा पुल निर्माणकालागि ७५ लाख बजेट परेको छ ।

त्यस्तै ट्वाङखोलामा डिपीआरसहित पक्की पुल निर्माणकालागि १ करोड ५० लाख,पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणकालागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणकालागि १ करोड २५ लाख बजेट परेको अर्थमन्त्री मास्कीले बताए ।  यी खोलामा पुल नहुँदा वर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । खोलामा पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका थिए । तर, अब ति खोलामा पुल बनेपछि ति समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।

पश्चिम दाङले मन्त्री पाएपछि पहिलो पटक परे सयौं सडकका योजना
दाङमा सडकका सयौं योजना परेका छन्। लुम्बिनी प्रदेश सरकारले दाङमा सडकका सयौं योजना छनोट गरेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सडककालागि दाङमा सयौं सडक छनोट गरेका हुन् ।

चालु आर्थिक वर्ष २०८०/०८१ कालागि उक्त योजना छनोट गरिएको हो । पश्चिम दाङबाट पहिलो पटक मन्त्री भएको भन्दै उनले आफू अर्थ मन्त्री हुँदा दाङकालागि धेरै सडकका योजनाहरू पार्न सफल भएको बताए । ‘पश्चिम दाङमा इतिहासमै धेरै बजेट पारेको छ’,उनले भने‘पश्चिम दाङकालागि यति धेरै बजेट विगतमा परेको थिएन ।’

आफू मन्त्री भएपछि दाङको विकासकालागि दत्तचित्त भएर लाग्ने भनि जनतासंग बाचा खाएको भन्दै सोही अनुसार काम गरेको मन्त्री मास्कीले बताए । अहिले परेको बजेटले पश्चिम दाङमा थुपै विकास हुने समेत उनले बताए । सडक नै विकासको मेरुदण्ड भएको समेत मन्त्री मास्कीले बताए ।

दाङको विकट बस्ती गंगटेमा प्रहरी इकाइ निर्माण हुने
दाङको विटक क्षेत्रका रुपमा रहेको गंगटेमा प्रहरी इकाइ भवन निर्माण हुने भएको छ  बबई गाउँपालिका वडा नम्बर १ मा पर्ने गंगटेमा यस अघि प्रहरीको पहुँच पुग्न सकेको थिएन । अपराध तथा सुरक्षासंग सम्बन्धित काम गर्नका लागि गंगटेबाट हापुरे नै पुग्नु पर्ने बाध्यता थियो ।

गंगटेमा प्रहरी इकाइ निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । प्रदेश सरकारले प्रहरी इकाई निर्माणका लागि ७५ लाख रूपैँया छुट्याएको अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

गंगटेबाट हापुरे पुग्न वर्षातको समयमा निकै समस्या हुने गरेको छ । सडकको अवस्था दयनिय भएकाले स्थानीयलाई निकै समस्या छ । त्यो सडक स्तर उन्नतीका  लागि पनि प्रदेश सरकारले बजेटको व्यवस्थापन गरेको छ ।

मन्त्री मास्कीद्वारा सग्राम ब्यारेकको अवलोकन
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर १९ स्थित संग्राम ब्यारेकको अवलोकन गरेका छन् । शनिबार मन्त्री मास्कीसहितको टोलीले उक्त ब्यारेकको अवलोकन गरेका छन् । प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलनका घाइते स्याहार केन्द्रको अध्ययन तथा निर्माणकालागि दुई करोड बजेट छुट्याएको छ । सोही स्याहार केन्द्र निर्माणकालागि संग्रहालयको अवलोकन गरिएको मन्त्री मास्कीले बताए ।

शान्ति प्रक्रियापछि भएको सेना समायोजनसँगै खाली भएको सक्राम ब्यारेक संरक्षण र प्रयोग नहुँदा जीर्ण बन्दै गएका छ । यसलाई उचित संरक्षण दिन सकेको छैन । पटक–पटक उक्त ब्यारेकलाई संग्राहलय बनाउन माग उठेपनि त्यो अनुसार काम अघि बढ्न सकेको छैन ।


केही वर्ष अघि सोही स्थानलाई क्रान्ति संग्राहलय बनाउने गरि चर्चा पनि गरिएको थियो । तर, त्यो काम पनि अगाडी बढ्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ब्यारेकलाई क्रान्ति संग्रहालय बनाउने कुरा उल्लेख गरेको थियो । तर, त्यो नीतिमा मात्रै सीमित भयो । सरकारी लगानीमा शिविरका लागि निर्माण गरिएका करोडौंका पूर्वाधार जीर्ण भइसकेका छन् ।

परेका बजेटको पनि कार्यान्वयन हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले २०७४ मै ४० लाख बजेट हालेको थियो । तर, त्यो बजेन कार्यान्वयन हुन सकेन् । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेश सरकारले २५ लाख बजेट हालेको थियो । त्यो पनि कार्यान्वयन हुन सकेन् । त्यहाँ दुई वटा सामुदायिक वनको विवादले गर्दा पनि परेका बजेटहरू कार्यान्वयनमा समस्या आउने गरेको थियो ।

क्रान्ति संग्राहलय उपभोक्ता तथर्द उपसमिति संयोजक देवराज वलीका अनुसार संग्राहलय रहेको लामाखोला सामुदायिक बन र नजिकै रहेको रानी सामुदायिक वनबीच सीमा विवाद थियो ।त्यसले गर्दा पनि आवश्यक प्रक्रिया अगाडी बढाउन समस्या हुँदा आएका बजेट पनि कार्यान्वयनमा समस्या हुने गरेको थियो । तर, अहिले भने त्यो समस्या समाधान भएपछि चालु वर्षमा प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट काम भइरहेको छ ।

यस अघि वनको विवादले पनि कसले सिफारिश गर्ने भन्ने कुराले विवाद उत्पन्न थियो’, उनले भने ‘अब भने त्यो समस्या हटेर गएको छ, काम अघि बढिरहेको छ ।’ अहिले १० लाखले चिल्ड्रेन पार्क, पिङ, चिप्लेटीलगायतका संरचना निर्माण भइरहेको र काम अन्तिम चरणमा पुगेको अध्यक्ष वलीले बताए ।

त्यहाँ ५ लाखको लागतमा तुलसीपुर उपमहानगरपालिकाले डीपीआर पनि तयार गरेको छ । क्रान्ति संग्राहलय बनाउने भन्दै बनाएको डीपीआर अनुसार १६ करोड लागत अनुमान गरिएको छ । त्यहाँ एक ब्रिगेडका ५ सय ३४ लडाकु बस्ने गरी पूर्वाधार तयार पारिएको थियो ।

ब्यारेकमा प्रयोग भएका एक क्षेत्रका २÷४ वटा पूर्वाधार मात्रै शिविरको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले केही समय अघिसम्म प्रयोग गरेको भए पनि सशस्त्रले पनि ब्यारेक छाडिसकेको छ । तत्कालीन अवस्थामा ब्यारेक निर्माणका लागि राज्यले ४ करोड खर्च गरेको थियो । ब्यारेककै लागि विद्युत, खानेपानी र सडकमा समेत लगानी गरेको थियो । हाल शिविरको स्वामित्व तुलसीपुर उपमहानगरलाई हस्तान्तरण गरिएको छ । ब्यारेक १० विघा क्षेत्रफलमा बनेको छ । लामाखोला महिला सामुदायिक वन क्षेत्र, नर्सरी र केही खेत ब्यारेकका लागि प्रयोग भएको छ ।

ग्वारखोला जलाशयको काम आगामी वर्षदेखि सुरू
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर स्थित ग्वारखोला जलाशयको काम आगामी वर्षदेखि सुरू गर्ने गरि तयारी थालेको बताए ।  विजौरी उद्योग वाणिज्य संघले आइतबार गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री मास्कीले प्रदेशको गौरबको आयोजनाका रुपमा उक्त जलासयलाई अघि बढाएको समेत बताए ।

‘ग्वारखोला हाइड्याम्पलाई प्रदेशको गौरबको योजनाका रूपमा अघि बढाएर आगामी बजेटबाट टेण्डरमा लैजाने गरि तयारी गरेका छौं’,उनले भने ‘अहिलेको बजेटबाट सम्भाब्यता अध्ययनको काम हुन्छ ।’ प्रदेश सरकारले हाल सम्भाब्यता अध्ययनकालागि एक करोड रूपैयाँ छुट्याएको छ । सोही जलाशय निर्माण भएमा यस क्षेत्रको सिंचाईको समस्या हल हुने उनले बताए । त्योसंगै खानेपानी, पर्यटनलगायत सोही क्षेत्रको जीवनस्तर सुधारमा टेवा पुग्ने उनको भनाई थियो ।

साथै उनले विजौरी बजारको थप विकासकालागि  प्रदेश सरकारले पहल थालेको बताए ।  थारु राजा दंगीशरणले राज गरेको सुकौराकोटको इतिहास जोगाउनकालागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको उनले बताए । ‘राजाले राज गरेको स्थानका थुपै्र अवशेषहरू छन्, त्यसलाई हामीले विकास गर्नुपर्छ, त्यो भनेको इतिहास हो’,उनले भने ‘त्यसकालागि अहिले पनि आफूले बजेट छुट्याएको र आगामी वर्ष पनि छुट्याइनेछ ।’

थारु समुदायले नै दाङको मानव सभ्यताको इतिहास जोगाएको भन्दै थारु समुदायको इतिहासलाई जोगाउनु पर्ने उनको भनाई थियो । त्यस्तै उनले तुलसीपुर १९ स्थित संग्राम ब्यारेकमा जनयुद्धका घाइते,अपाङ्गता भएका ब्यक्तीहरूकालागि स्याहार केन्द्र स्थापना गर्नकालािग सम्भाब्यता अध्ययनको काम भइरहेको समेत बताए ।  संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का अध्यक्ष प्रेमनाथ योगी, पूर्व सल्लाहकार विष्णु चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । वाणिज्य उपाध्यक्ष डिल्ली खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब दिपक बस्नेतले गरेका थिए । साभारः अग्रिम साप्ताहिक