डिभिजन वन कार्यालयको एक वडा एक पोखरी कार्यक्रमबाट दाङमा ६ वटा पोखरी निर्माण

दाङ, ७ साउन ।
किसानलाई सिंचाई सुविधा दिन तथा जंगली जनावर र पक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक बर्षका ६ वटा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको एक वडा एक पोखरी कार्यक्रमबाट गत आर्थिक बर्ष २०७९/०८० मा थप ६ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

घोराही र तुल्सीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा ६ वटा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । ती स्थानमा सामुदायिक वन समूहको समेत सहभागितामा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

पोखरी निर्माण भएपछि पानीको मुहान संरक्षण भई पानीको श्रोत बढेको र बर्षातको पानी पनि संकलन हुदा पोखरीमा पानी बढेपछि स्थानीयलाई सजिलो भएको कार्यालयले जनाएको छ ।

पोखरीमा संकलन भएको भएको पानीलाई कुलो बनाई किसानले मौषमी र खेतीपाती गरी आफ्नो आयआर्यनमा बृद्धि गर्न शुरु गरेको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । साथै पोखरी निर्माण भई पानी जम्मा हुन थालेपछि जंगली जनावरण र चराचुरुङ्गीले प्रसस्तै पानी पिउन पाएको समेत डिभिजन वन कार्यालय दाङले जनाएको छ ।


एक वडा एक पोखरी निर्माण कार्यक्रमका लागि स्थानीयको अत्याधिक माग हुने गरेको र सामुदायिक वन समूहको सह—लगानीमा स्थानीय उपभोक्ताहरुको सहभागितामा काम हुने हुँदा थोरै लगानीमा धेरै काम हुने गरेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

प्रायः सामुदायिक वन क्षेत्रको खोल्सा, खेरा गएको क्षेत्रमा पोखरी निर्माण गरिएकाले कम लागनीमा निर्माण भई बहुपक्षीय लाभ स्थानीयले लिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।