रूख रोप्ने मात्रै होइन्, जोगाउन पनि ध्यान दिनुपर्छ

वर्षादको समय छ । यो समय रूख रोप्ने समय हो । हरेक ब्यक्तीलाई रूख रोप्ने चटारो छ । सबैले घर–घरमा रूख रोप्न थालेका छन्, भने सामूहिक रूपमा सामुदायिक वनमा पनि रूख रोप्ने गरेका छन् । विभिन्न सरकारी तथा अन्य निकायले यसरी नै प्रत्येक वर्ष वर्षादको समयमा रूख रोप्ने गर्छन । कार्यक्रमको आयोजना गरेर विभिन्न उच्च ओहोदाका ब्यक्तीदेखि समाजका गन्यमान्य ब्यक्तीहरूले यसरी रूख रोप्ने गर्छन् । यो अभ्यास सुरू भएपछि केही ठाउँका बञ्जर जमिनपनि हराभरा भएका छन् । नदी किनारहरू हराभरा भएका छन् । रूख रोपेपछि पनि नियमित गरिएको हेरचाहले नै यसरी हराभरा भएका हुन् । नियमित हेरचाह नगर्दा रोपिएका रूखहरू पनि सुक्ने र हराउने गरेका छन् ।

पछिल्लो समय रूख रोप्ने संस्कृतिको विकास भएको छ, यो एकदमै सकारात्मक पाटो हो । तर, आफूले रोपेका रूख कस्ता भए, भन्ने कुरा कसैले पनि ध्यान दिने गरेको पाइदैन । विगतमा आफूले रोपेको रूख यो वर्ष कस्तो भयो होला, भन्ने कसैले पनि चासो दिइएको छैन । रूख रोप्ने पनि एउटा फेशन बनेको छ, तर, संरक्षणमा सम्बन्धितले चासो नदिदा रोपिएका विरुवाहरू त्यसै हराउने गरेका पनि छन् ।


रूख रोप्नु मात्रै ठूलो कुरा होइन्, जोगाउनु ठूलो कुरा हो भन्ने कुरा यसले प्रमाणित गरेको छ । हामीले रोपेका विरुवा कस्तो भए पटक–पटक अवलोकन तथा संरक्षण गर्ने जिम्मा पाएका ब्यक्तिलाई निर्देशन गर्न नसक्दा पनि यसरी प्रत्येक वर्ष विरुवा खेर गइरहेका छन् । रोपिएकामध्ये आधा मात्रै विरुवा हुर्काउन सकेपनि त्यसले धेरै प्रभाब पार्न सक्छ । लाखौं विरुवा रोपिए पनि त्यसको आधा मात्रै पनि हुर्किरहेका हुदैनन् । त्यसैले रूख रोप्ने मात्रै भन्दा पनि संरक्षणमा चासो दिने गरि यस्ता कार्यक्रमलाई अगाडी बढाउनु नै अहिलेको आवश्यकता हो । साभारः अग्रिम साप्ताहिक