ललित कुमार यादव
नेपालभित्र विशेषतः व्यवस्थापनको समस्याले पानी–संकट समाधान हुन सकेको छैन । व्यवस्थापनकै कारणले पहाड र तराईका विभिन्न स्थानमा पानीको समस्या देखिएको छ । तथापि, नेपालले आफ्नो आन्तरिक समस्या समाधान गरेर पानी निर्यात गर्न सक्ने सार्मथ्य राख्छ । छिमेकी भारतलाई पानी बेचेर मनग्गे आम्दानी भित्राउन सक्ने सम्भावना रहेको जलस्रोतविद् बताउँछन् ।
हिमाली र पहाडी क्षेत्रबाट बग्ने हजारौँ नदीनाला र विभिन्न स्थानका तालतलैयाले नेपाललाई जलस्रोतको धनी बनाएको छ । तर, त्यसको समुचित वितरण, व्यवस्थापन र सदुपयोग नहुँदा खानेपानीको अभाव मुलुकभरि छ । ‘पानी बेचेर नेपाल धनी हुन सक्छ’ भन्ने सपना हामीले धेरै पहिलेदेखि देख्दै आएका छौँ । प्रत्येक व्यक्तिको भागमा सात हजार घनमिटर पानी पर्छ । यतिको पानी सिँचाइ र खानेपानी दुवैका लागि पुग्दो छ । तर, व्यवस्थापनको कमजोरीले पानीको संकट कायम छ ।
सबैले खानेपानीको सुविधासमेत पाउन सकेका छैनन् । तराईमा भूमिगत जलस्रोतको भण्डार छ । तर, निस्केको पानी आर्सेनिकयुक्त छ । चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गरेको छ । तराईको खानेपानी र सिँचाइ दुवैको स्रोत जमिनमुनिको हो । यस्तो पानी चापाकल र बोरिङका माध्यमले जमिनमाथि तानिन्छ ।
सोही पानी आवश्यकताअनुसार प्रयोग गरिन्छ । पहाडमा विशेषतः मूलबाट प्राप्त पानी पिउन उपयोग गरिन्छ । यो पनि भूमिगत जलस्रोत हो । भूमिगत जलको सतह र जमिनको सतहको अवस्थिति समुद्री सतहबाट कम्तीमा एउटै उचाइमा रहने ठाउँमा मात्रै मूल हुन्छ । तर, पहाडमा भूमिगत जलस्रोतको उपलब्धतामा कमी आएको छ । कर्णाली र सुदूरपश्चिमका कैयौँ स्थानमा पानी–संकट छ ।
केही वर्षअघिसम्म तराईमा प्रशस्त इनार र कुवा थिए, जहाँ प्रशस्त पानी हुन्थ्यो । अहिले यी सुकेका छन् । तराईमा इनार र कुवा भेट्टाउनै मुस्किल छ । एकाध भेटिए पनि त्यसमा पानी भेटिँदैन । पुराना चापाकल र बोरिङ प्रायः सुकेका छन् । पहिले ४० देखि ६० फिटमुनिबाटै पानी प्राप्त हुनेमा अहिले चार सयदेखि पाँच सय फिट मुनिबाट पनि मुस्किलले प्राप्त हुन्छ ।
तराईमा पनि जमिनमुनिको पानीको भण्डार कम हुँदै गएको छ । जसले गर्दा अधिकांश बस्ती काकाकुल बन्ने अवस्थामा छन् । पानीको संकटले स्थानीय जनजीवन कष्टकर बनिरहेको छ । खानेपानी मन्त्रालयको जिम्मेवारी हुन्छ– पानीको संकट हुन नदिनु । सम्बन्धित अन्य निकायमा नेपाल खानेपानी संस्थान, खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेड छन् । सिँचाइ प्रयोजनका लागि भूमिगत सिँचाइ प्रणाली महाशाखा छ । तर, देशैभरिको पानी–संकटको समाधान जहाँको तहीँ छ ।
नेपालमा दुई किसिमको भूमिगत जलस्रोतको भण्डार रहेको अनुमान छ । एउटा चिराचिरा परेको चट्टानी भागमा हुने जलभण्डार र अर्को नरम बलौटे माटोमा हुने जलभण्डार । पहाडमा पहिलो किसिमको र पहाडी भागको उपत्यका तथा तराईको समथर भूभागमा दोस्रो किसिमको जलभण्डार छ । पानीको उपलब्धतामा कमी आउनुमा विभिन्न कारण छन् ।
जसमा जंगल फँडानी, मापदण्डविपरीत खोला उत्खनन, जलवायु परिवर्तन आदि पर्छन् । यसमा पनि चुरेको विनाश तराईमा पानीको उपलब्धतामा कमी आउनुको मुख्य कारण हो । यो समस्यालाई समयमा नै सम्बोधन नगर्ने हो भने गाउँका गाउँ बसाइँ सर्न बाध्य हुनेछन् र यसले सामाजिक अन्तरकलहको परिस्थितिसमेत सिर्जना हुन सक्छ ।
पानीको समस्या समाधान गर्न भूमिगत जलस्रोतलाई ‘रिचार्ज’ गर्न जरुरी छ । यसका लागि जमिनमुनि पानी पठाउन सक्नुपर्छ । वर्षात्को पानी जमिनभित्र छिर्न नपाएर सीधै खोलामा मिसिने गरेको छ । जमिनभित्र पानी छिर्न नपाउँदा भूमिगत पानीको सतह घट्दै गएको छ । पानीको उपलब्धता र स्रोत व्यवस्थापन कठिन बन्दै गएको छ । स्रोतको दिगो व्यवस्थापन आजको आवश्यकता हो । जमिनमुनिको पानी तानेर उपभोग गर्ने मात्रै नभई जमिनमुनि पानी पठाउने वा सोस्न दिने काम हो, भूमिगत पानी रिचार्ज ।
भूमिगत पानी रिचार्ज गर्न ठूलो खर्च लाग्दैन, न त महँगो प्रविधि नै चाहिन्छ । आकाशबाट वर्षिएको र घरमा उपभोग भएर बाहिरिने पानीलाई जमिनभित्र पठाउनुपर्छ । त्यसका लागि प्रत्येक घरमा २० देखि ४० फिटसम्म गहिरो एउटा इनार बनाउनुपर्छ । इनारको तल्लो भागमा ठूलो आकारको गिट्टी र त्यसभन्दा माथि तीन फिटसम्म खस्रो बालुवा राखी त्यसमाथि जियो टेक्सटाइल राख्नुपर्छ । त्यसमार्फत भूमिगत पानी रिचार्ज गर्न सकिने विज्ञहरू बताउँछन् ।
साथै स्रोत व्यवस्थापन, पूर्वाधार निर्माण गर्दा प्राकृतिक वातावरणीय पक्षलाई ध्यान दिने, उचित भूउपयोगलाई व्यवहारमा लागू गर्ने, मापदण्डविपरीतका खोला उत्खनन रोक्ने र चुरे संरक्षणमा प्रतिबद्ध भएर लाग्ने जस्ता कार्य गर्न जरुरी छ । स्वच्छ पानी जनताको नैसर्गिक अधिकारको रूपमा संविधानले व्यवस्था गरेकाले पानीको व्यवस्थापन तथा नियमन गर्ने निकायको स्पष्ट कार्ययोजना हुनुपर्छ । दिगो पानी आपूर्तिका लागि स्थानीयस्तरको परम्परागत ज्ञानको प्रयोगलाई समेत प्रोत्साहित गर्न सक्नुपर्छ ।
जलस्रोत रणनीति २००२, राष्ट्रिय जलस्रोत योजना २००५ र राष्ट्रिय जलस्रोत नीति २०७७ द्वारा निर्देशित एकीकृत व्यवस्थापनलाई सरकारले आफैँ पूर्ण कार्यान्वयन गर्न सकेको छैन । प्राकृतिक स्रोतको उपयुक्त व्यवस्थापनका लागि तिनको प्रकार, मात्रा र प्रवृत्ति थाहा पाउनुपर्छ । यसले सही निर्णयमा पुग्न सहयोग गर्छ । नेपालमा प्रचुर मात्रामा जलस्रोत रहे पनि पानीको उपलब्धता महिनाअनुसार फरक पर्छ । वर्षात्को महिनामा धेरै र सुक्खा महिनामा थोरै हुने गर्छ । वर्षात्मा धेरै भएको पानी सुक्खा महिनामा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो ।
प्राकृतिक भण्डारका विकल्प, जस्तै– भूमिगत जलस्रोत, माटोको चिस्यान र सिमसार क्षेत्रहरूको संरक्षण गर्न आवश्यक छ । भूमिगत जलस्रोतको अनावश्यक दोहन गर्नुहुँदैन । आवश्यकताअनुसार मात्र उपयोग गर्नुपर्छ । भूमिगत जलस्रोत सीमित छ, तर पानी हामीलाई सधैँ चाहिन्छ । हामीले हाम्रा सन्ततिका लागि स्रोत जोगाइदिनुपर्छ । साथै, जलस्रोतको भरपर्दो तथ्यांक र जानकारीले संरक्षण र व्यवस्थापनमा पनि धेरै सहयोग पुर्याउँछ । साभारः नयाँ पत्रिका
लाइभदाङ । १ श्रावण २०८०, सोमबार १२:२० बजे