दाङ, ३० असार । रोल्पाको त्रिवेणी गाउँपालिका ४ चालढुंगा निवासी नरेश वलीको भारतमा खोलाले बगाउँदा मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार ४७ वर्षीय वलीको असार २५ गते चन्डीगढमा मृत्यु भएको हो । बिदाको दिनमा आफन्तसहित चन्डीगढस्थित अमरावाती नदी किनारमा घुमघाम गर्न पुगेका बेला उक्त नदीको ड्याम खोलिँदा एक्कासि आएको बाढीले उहालाई बगाएको थियो । साथमा घुम्न पुगेका साथीहरूले उनलाई बचाउने कोसिस गरेका थिए । नरेशका भाइ कविराज नदीमै हाम फालेर दाइलाई बचाउने प्रयास गरेका थिए । आधा किलोमिटर भन्दा लामो दुरीमा पुग्दा पनि नरेशलाई भेट्टाउन नसकिएको भाइ कविराजले बताउनुभएको छ । उक्त घटनापछि स्थानीयसँगै भारतीय प्रहरीले समेत खोजी थालेको थियो ।
नरेशलाई नदीले २५ गते सोमबारका दिन बगाए पनि उहाको शव दुई दिनपछि असार २७ गते बुधबारका दिन बेलुकी ६ बजे करिब ३५ किलोमिटर टाढाको मुबारकपुरमा फेला परेको थियो । मृतक वलीको शवको पोस्टमार्टम भने असार २९ गते भारतको पन्चुला सेक्टर ६ स्थित अस्पतालमा गरिएको थियो । भारतमा रहेका आफन्तले चन्डीगढकै मनिमाजरा हाउजिङ बोर्ड नजिक रहेको घाटमा दाहसंस्कार गरेका थिए । मृतक वलीका ज्वाइँ भीम डाँगीका अनुसार शव नेपाल ल्याउन ज्यादै खर्च लाग्ने भएकाले त्यहीँ सदगद् गरिएको हो । उहाको काजकिरिया भने नेपालस्थित घरमा गरिने पारिवारिक स्रोतले जनाएको छ । वलीका परिवार दाङको तुलसीपुर १६ मा पनि बसोबास गर्छन् । नरेश भारतमा २५ वर्षदेखि बस्दै आउनुभएको थियो । घरमा श्रीमतीसहित ३ छोरी र १ छोरा रहेका नरेशले चन्डीगढस्थित ज्वेलरी दुकानको गाडी चलाउने काम गर्दै आउनुभएको थियो ।
लाइभदाङ । ३० असार २०८०, शनिबार १६:१० बजे