प्रतिष्ठानमा दुई पक्षबीच सहमति, स्वास्थ्य सेवा सुचारु

घोराही, ३० असार । प्रतिष्ठानमा बालक मृत्यु घट्ना बारे सत्यतथ्य छानविनका लागि समिति गठनसँग मृतकका परिवारलाई रोजगारी दिने सहमति भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा नियमित रुपमा सुचारु भएको छ ।

उपचारका क्रममा प्रतिष्ठानमा घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी ११ बर्षीय बालक आक्रोश नेपालीको विहीवार मृत्यु भएपछि पीडितका आफन्तहरुले आन्दोलन गर्दा दुई दिनदेखि प्रतिष्ठानले सेवा दिन सकेको थिएनन् । प्रतिष्ठानका पदाधिकारी र मृतकका आफन्तहरुको शुक्रवार राती भएको बार्ताले सहमति जुटाएसँगै अवरुद्ध रहेका स्वास्थ्यहरु सुचारु भएको प्रतिष्ठानले जनाएको छ ।

अबेरसम्म चलेको बार्ता निष्कर्षमा पुगेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिनुभएको छ । उपकुलपति डा लामिछानेले भन्नुभयो,‘प्रतिष्ठान,पीडित पक्षका प्रतिनिधिलगायतको बार्ताबाट सहमति भएसँगै प्रतिष्ठानमा अवरुद्ध भएको स्वास्थ्य सेवा शुक्रवार रातीदेखि नै सूचारु भएका छन् ।’


उहाँका अनुसार पीडित र अस्पताल पक्षबीच घोराही उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनाउने सहमती भएको छ । जसमा वडा अध्यक्ष संयोजक रहने गरी सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरीबाट एक जना, अस्पताल प्रशासनबाट एक जना, राजनीतिक दलका तर्फबाट एक जना, पीडित पक्षबाट २ जना सदस्य रहने छन् ।

समितिले जतिसक्यो चाडो घट्नाबारेमा अध्ययनसँगैसत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने उहाँले बताउनुभयो । त्यसैगरी शैक्षिक योग्यता अनुसार मृतक एकाघरका नजिकका आफन्तलाई रोजगारी दिने, पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाएर आर्थिक संकलन गरिने सहमति भएको छ ।

सहमतिसँगै मृतक बालकको शव आफन्तले बुझ्ने र अन्त्येष्टि गर्ने, उपचारका क्रममा मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न कार्यकारी परिषदमा सिफारिस गर्ने सहमति भएको उपकुलपति डा. लामिछानेले बताउनुभयो ।छारे रोग सम्वन्धी समस्या भएका बालकको उपचारका क्रममा एमआरआई गर्नका लागि लग्ने क्रममा एमआरआई मेसिनको चुम्बकीय शक्तिले अक्सिजन सिलिन्डर तान्दा चोट लागेर बालकको मृत्यु भएको पीडितको आरोप छ ।