नीति कार्यक्रममै समावेश श्रम अभियान सुरु

गोकर्ण पौडेल
तुलसीपुर, २७ असार ।
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८० को नीति तथा कार्यक्रममा श्रम अभियान समावेश गरेको छ । उक्त अभियानमा जनप्रतिनिधि,स्थानीयवासी,युवासहित श्रम अभियानमा समावेश गर्ने नीतिमा उल्लेख छ ।

अभियानको बुधवारदेखि सुरु गरिएको छ । तुलसीपुर हंशपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ८ गहतेदेखि शान्तिनगरसम्मको सडकमा परेका खाल्डा खुल्डी सम्याउने काम सुरु भएको छ । नगरप्रमुख टीकाराम खड्काको नेतृत्वमा अभियान सुरु भएको हो ।


करिब ११ किलोमिटर सडक संघीय सरकारअन्तर्गत भएपनि जनताले खाल्डा खुल्डीका कारण निकै सास्ती व्यहोर्नु परेकाले पहिलो प्राथमिकतामा राखेर अभियान नै सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो । उहाँले श्रम अभियानअन्तर्गत सडक खाल्डा खुल्डी पुर्ने, सडकको पहिरो हटाउने,वृक्षरोपण,सरसफाइका कार्यक्रम रहेको बताउनुभयो । अभियानमा पालिकाको यान्त्रिक साधनहरुको समेत प्रयोग भएका छन् ।

उक्त सडक खण्डमा अटो चलाउदै आएका ज्ञानु केसीले खाल्डा खुल्डी सम्याएसंगै दुर्घटना कम हुने बताउनुभयो । सडक क्षेत्रभित्र पर्ने वडा नं. ८ वडाध्यक्ष धर्मराज वलीले वर्षायाम सुरुभए संगै त्यस सडकखण्डमा दर्जनौ स्थानमा खाल्डा खुल्डी परेको बताउनुभयो ।

श्रम अभियानमा सहभागी युवा टोपेन्द्र बस्नेतले पालिकाले श्रम अभियान नै सुरुवात् गरेकोमा युवाहरुमा उत्साह थपेको बताउनुभयो ।