संघर्षले चम्किएका तेज

टेकराज भण्डारी
तेज बहादुर डाँगीको जन्म २०५४ जेष्ठ ८ गते सल्यान जिल्ला छत्रेश्वरि गाउँपालिका वडा नम्बर ३ मुलखोलामा भएको हो । सामान्य परिवारमा जन्मिएका उनको बाल्यअवस्था सल्यानमा बितेको थियो । हजुरबुबाको पालासम्म परिवारको आर्थिक अवस्था राम्रो भए पनि बुबाको पालासम्म आउँदा निकै खस्किदो आर्थिक अवस्थाका कारण बाल्यकाल निकै कष्टकर भएको बताए । उनी सानै उमेर देखि पढाइमा अब्बल थिए । उनले गाउँको नारायण प्राविबाट प्रावि तहको अध्ययन गरे ।

मावि तहको अध्ययन जानकी मावि दोहलि सल्यानबाट पास गरे । एसएलसी परिक्षामा प्रथम श्रेणीबाट उत्कृष्ट अङ्क ल्याउँदा गाविसले कार्यक्रम आयोजना गरि सम्मान गरेको उनी माझ अझै स्मरण छ । उनले एसएलसी पछिको यात्रा निकै अन्योल र दुविधायुक्त रहेको बताउँछन् । उनले सोचे अनुरूपको उच्च शिक्षा पढाउने परिवारको आर्थिक अवस्था थिएन ।

परिवारको आर्थिक अवस्थाका कारण पुर्वी नेपालको झापा जिल्लामा अरूको घरमा बसेर अध्ययन अगाडि बढाएको कुरा भाबुक हुदै सुनाउँछन् । त्यस पछि कतैबाट केहि उपाए नलागे पछि आमाले दिएको रू.१००० रूपैयाँ बोकेर दाङ तुलसीपुर आए ।  केहि काम गर्ने र कामसंगै अध्ययन अगाडि बढाउने उनको सोच थियो । उनले काम कतै नपाए पछि सबैभन्दा सस्तो फि भएको कलेज खोज्न थाले ।

उनी त्यस पछि ग्रेट अरनिको माविमा कक्षा ११ मा भर्ना भए । उनले भने “जिवनमा आफुले गरेका थुप्रै निर्णयहरूमध्ये ग्रेट अरनिको मावि पढ्ने निर्णय आफ्ना लागी निकै सफल भएको बताए ।” उनको परिवाबाट पैसा मागेर आफ्नो गुजरा धान्ने अवस्था थिएन । त्यति बेला ग्रेट अरनिको माविका सञ्चालक नारायण भट्टराई र नबराज भण्डारीले सञ्चालन गरेको एभरेस्ट एकाडेमिमा ट्युसन कक्षाहरू पढाउन पाउँदा उनी निकै खुसि भए ।

त्यस पछि ४ वर्षे स्नातक तहको पढाइको लागि पुर्ण छात्रवृत्तिमा ज्ञान दिप कलेजमा भर्ना भए । त्यस पछि बिहान र बेलुकाको समयमा ट्युसन कक्षाहरू पढाउँदा आर्थिक रूपमा ठुलो समस्या भएन । परिवारको आर्थिक अवस्थाको कारण जागिर गर्नै पर्ने बाध्यता थियो । आफु व्यवस्थापन संकायको विद्यार्थी भएको हुनाले बैकिङ क्षेत्रमा केहि गर्नु पर्छ भन्ने उनी माझ हुटहुटि थियो ।


२०७७ सालमा लोकसेवा आयोगले लिएको कृषि विकास बैंकको सहायक पदमा नियुक्ति भए । उनी दुर्गम जिल्ला जाजरकोटमा  सिफारिस थिए । उनले २ वर्ष जाजरकोटमा जागिर गरे । उनी हाल कृषि विकास बैंक शाखा तुलसीपुरमा कार्यरत छन् । आफु सफल भएको ठाउँमा आएर सेवा गर्न पाउँदा उनी निकै खुसि देखिन्छन्  ।

बुबाको वैदेशिक रोजगारी सफल नभएपछि आमाले निकै दुःख गरेर पढाएको कुरा सुनाउँदा आखाबाट आसु झार्दछन् । आमाले परिवार धान्नको लागि भैसि पाल्ने गरेको र त्यहि भैसिको दुध बेचेर आफुले पढेको हुँदा आफ्नो सफलताको पहिलो सारथि आमा र भैसिको दुध भएको बताए ।

उनी अहिले मास्टर डिग्रीको अध्ययन राप्ती बबई क्याम्पसबाट गरिरहेका छन् । उनी हाल कृषि विकास बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश दाङ समितिको उपाध्यक्ष हुन् । आफ्नो नेतृत्व क्षमता विकासको लागि संस्थामा अब्बध भएको बताउँछन् । उनले भने “अभाव, दुःख र अफ्ट्याराहरू सफल जिवनका आधारहरू हुन् ।

दुःखमा कहिल्यै हार मान्नु हुँदैन निरन्तर संघर्ष गरे एक दिन सफल अवश्य भईन्छ ।” आफुले जिवनमा अझ थुप्रै  कामहरू गर्न बाँकि रहेको र त्यसका लागि मेहनत र संघर्ष गरि रहेको बताए । उनले आफ्नो पेशागत जिम्मेवारी र कर्तव्यको पालना गर्दै खाली रहेको समयमा लोकसेवा आयोगका कक्षाहरू पढाउने गर्छन् ।

उनले यो देश हाक्ने प्रशासक बन्ने सपना बोकेको बताए । सबै कुरा ठिक हुँदै गए यो देशमा बसेर केहि गर्ने सपना देखेका गरिब परिवारका सन्तानको शिक्षाको लागि आफुले सक्दो सहयोग गर्ने बताए । साभारः अग्रिम साप्ताहिक