स्थायी राजधानीमा प्रहरीको सञ्चार शाखा

देउखुरी,१९ असार ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका भालुवाङमा प्रहरीको सञ्चार शाखा स्थापना गरिएको छ । प्रदेशको गृह मन्त्रालयमा उक्त शाखा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताउनुभयो ।

यस अघि स्थायी राजधानीमा प्रहरीको सञ्चार शाखा थिएन । जसले गर्दा प्रदेशका मन्त्रीहरुका ब्यक्तीगत सुरक्षा अधिकारी(पीएसओ)हरुलाई सञ्चार गर्न समस्या हुने गरेको थियो । तर, अब त्यो समस्या हटेको उहाँको भनाई छ ।“पहिले स्थायी राजधानीमा प्रहरी सञ्चार कार्यलय थिएन”,उहाँले भन्नुभयो“जसले गर्दा पीएसओहरुलाई सञ्चार गर्न गाह्रो हुन्थ्यो, अब सञ्चार कार्यालय खोलेपछि सहज भएको छ ।” कार्यालय खुलेसंगै अब जिल्ला भरका स्टेशन तथा युनिटहरुसंग सञ्चार गर्न सहज भएको छ ।


हाल स्थायी राजधानीमै रिपिटर टावर र बेस स्टेशन स्थापना गरिएको छ । साथै हाललाई तीन जना प्रहरी समेट खटाएको छ । सोमबारदेखि कार्यलयको काम सुरु भएसंगै पीएसओहरुलाई सञ्चार गर्न सहज भएको छ ।