लुम्बिनीः ‘एमालेले हलो अड्काउने, गोरु चुट्ने काम गर्‍यो ’

 दाङ,१९ असार ।
लुम्बिनी प्रदेशसभामा एमालेले विरोध कायमै राखेको छ । आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट बक्तब्य पछिका सबै बैठकमा एमालेले विरोध जनाएको छ । पछिल्ला ८ बैठकमा एमालेले विरोध जनाएको छ । लुम्बिनी प्रदेश अन्तर्गतका सबै निर्देशनालयहरु खारेज गरेपछि एमाले सांसदहरुले ति निर्देशनालय फिर्ताको माग गर्दै आन्दोलन गरेको छ ।

साथै एमालेले प्रत्येक निर्वाचन क्षेत्रमा २/२ वटा क्रमागत योजना छनोट गर्नुपर्ने तथा विगतका क्रमागत योजनाहरुलाई निरन्तरता दिनुपर्ने माग राख्दै आएको छ । सरकारले अनाबश्यक खर्च न्यूनिकरण गर्न निर्देशनालयहरु खारेज गरिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

एमालेले बैठक बहिष्कार तथा अवरोध गरेपनि सदन भने चलिरहेको छ । यस अघि अर्थ मन्त्री मास्कीले प्रस्तुत गरेको राजश्व र व्ययको अनुगमनको प्रस्ताब पारित भएको छ । त्यस्तै सोमबार पेश भएको विनियोजन विद्येयक माथि छलफल प्रारम्भ भइ सांसदहरुले छलफलमा सहभागिता जनाएका थिए । त्यसको जवाफ सम्बन्धित मन्त्रीहरुले बुधबार दिनेछन् ।


छलफलका क्रममा सत्ता पक्ष सांसदहरुले सबै सांसदहरुलाई यस पटक समान हिसाबले बजेट दिएको भन्दै यो बजेट उत्कृष्ट रहेको भन्द्र प्रशंसा गरेका थिए । सांसद निमा गिरीले प्रतिपक्ष सांसदहरुले पनि छलफलमा भाग लिएर रचनात्मक सल्लाह सुझाब दिनुपर्ने बताईन् ।

मुलुक आर्थिक शंकटमा गुज्रिएको अबस्थामा खर्च कम गर्न निर्देशनालय खारेज गरिएको भन्दै यसमा एमाले सांसदहरुले‘हलो अड्काएर, गोरु चुट्ने’ कार्य गर्न नहुँने बताएकी थिइन् ।

छलफलमा सांसद लोका कुमारी विक, सञ्जु कुमारी चौधरी, तारा थापा, दिलकुमारी बुढालगायतले भाग लिएका थिए । एमाले सांसदहरुले भने सभामा नाराबाजी गरेका थिए ।