छुवाछुतका घटनाप्रति जातिय मुक्ति समाज दाङको ध्यानाकर्षण

दाङ, १९ असार ।
नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङले जातीय भेदभाव तथा छुवाछुतका दुई वटा घटनामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाजले आज जारी गरेको विज्ञप्तिमा दाङमा जातीय आधारमा बिभेद गर्दै घर बाट जवरजस्ति निकालेको घटना र जुम्लामा अन्तरजातिय प्रेम विवाहको विषयलाई लिएर ज्यान मार्ने मनसायले घरमा आगजानी गरको विषयमा गम्भिर ध्यानार्कषण भएको जनाउदै कडा कार्वाहीको माग गरेको छ ।

समाजका अध्यक्ष शंकर नेपालीले हस्ताक्षर गर्दै जारी गरेको विज्ञप्ति मार्फत् दाङमा यही असार १५ गते घोराही १७ का ताराप्रसाद पोखरेलले घरभाडामा बस्ने महेन्द्र विक र अंगराज परियारलाई जातीय आधारमा बिभेद गर्दै घरबाट जवरजस्ति निकालेको मुद्दामा थुनामा रहेका पीडक पोखरेललाई प्रचलित कानुन बमोजिम कारवाहीको माग गरिएको छ ।


साथै जुम्लाको तातोपानी गाउँपालिका वडा नंम्वर ४ बस्ने चन्द्रविर नेपालीको छोरा मुकेन्द्र नेपाली र स्थानीय श्रीराम गिरीको छोरी वसन्ती गिरी बिचको प्रेम विवाहको विषयलाई लिएर केटीका दाजु हिम्मत गिरी र आफन्तहरुले मुकेन्द्र नेपाली लगायत सबै परिवारको ज्यान मार्ने मनसायले असार १५ गते राति ३ बजेको समयमा नेपालीको घरमा आगजानी भएको घटनाप्रति पनि समाजले ध्यानाकर्षण गराएको समाजका अध्यक्ष नेपालीले जानकारी दिनुभएको छ ।

मानव अधिकारको विश्वव्यापी मान्यतालाई ठाडो चुनौती दिदै जातीय भेदभाव तथा छुवाछुत गर्ने चल-अचल सम्पति नस्ट गर्ने गरी गरिएको गम्भिर अपराधले त्यस क्षेत्रका दलित बस्तिलाई आतंकित बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । घटना पश्चात मुकेन्द्र नेपाली र बसन्ती गिरी बेपत्ता रहेका छन् । कानुन विपरित घटाईएको उक्त घटनाको निष्पक्ष छानविन गरी दोषिलाई कडा भन्दा कडा कारवाही समाजले माग गरेको छ ।