
तुलसीपुर, २१ साउन ।
वर्षातको मौसमसँगै डेंगीको जोखिम बढ्दै गएकाले तुलसीपुर उपमहानगरपालिका–६ मा डेंगी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम डेंगी फ्री नेपाल दाङ जिल्लाको संयोजक शुभम देवकोटाको सभाध्यक्षता तथा वडा अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भण्डारीले वडाभित्र लामखुट्टेका बासस्थान पहिचान गरी टोल–टोलमा फुल, लार्भा तथा प्युपा नष्ट गर्न विकास संस्थाहरुलाई आग्रह गरिएको बताए। डेंगी नियन्त्रणका लागि टोल–टोलमा सरसफाइ अभियान सञ्चालन भइरहेको र वडाले नियमित रुपमा सरसफाइमा जोड दिएको उनले बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक विमल के.सीले डेंगी रोग, यसको लक्षण र बच्ने उपायबारे जानकारी दिए । उनले लामखुट्टेको जीवनचक्र, संक्रमणको अवस्था र सामुदायिक भूमिका माथि प्रष्ट पारेका थिए । पालिकाले प्रत्येक शुक्रबार डेंगीको रोकथामको कार्यक्रम गर्ने गरेको बारे जानकारी दिए ।
कार्यक्रममा टोल विकास संस्था, स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरुले डेंगी नियन्त्रणका लागि एकआपसमा सहकार्य गर्दै वडालाई पूर्णरुपमा डेंगूमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम सहजीकरण पालिका एड्भोकेट सुस्मा रानाले गरेकी थिईन् ।



लाइभदाङ । २२ श्रावण २०८२, बुधबार १४:४३ बजे