गएको बर्ष तुलसीपुरका १३४ छोरीको खाता, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

तुलसीपुर
७ असोज / दाङको तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ । सुत्केरी महिलाहरुलाई सहजताकालागि निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको तुलसीपुर उपमहामनगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखाका सिनियर अहेव बिष्णु कुमार गिरीले बताउनुभयो ।

“हामीले अहिले उपमहानगरपालिका भित्रका सबै सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिदै आएका छौं”, उहाँले भन्नुभयो“हामी जहाँ बोलायो त्यहाँ पुगेर अस्पताल सम्म ल्याउने र घर पु¥याउने गरेका छौं ।” यसले सुत्केरी महिलाहरुलाई निकै सहज बनाएको उहाँको भनाई छ । यसले मातृशिशु मृत्युदरमा कमी ल्याउने उहाँको विश्वास छ । साथै अब उपमहानगरपालिकाका सबै एम्बुलेन्समा अक्सिजनको सिलिण्डरको व्यबस्था गर्ने तयारी रहेको समेत उहाँले बताउनुभयो ।

गएको बर्ष १३४ छोरीको खाता
तुलसीपुर उपमहानगरपालिकाले गएको आर्थिक बर्ष २०७७÷०७८ देखि स्मार्ट छोरी कार्यक्रम लागु गरेको छ । जसमा उपमहानगरपालिका भित्र जन्मिएका छोरीहरुलाई बैंक खाता खोली २० बर्षसम्म रकम जम्मा गर्ने नीति लागु गरेको हो ।


जसमा गएको बर्ष एकसय ३४ छोरीको खाता खोलेर रकम जम्मा गरेको तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठले बताउनुभयो ।“केही आमाहरुले छोरीको खाता बनाउन नचहाने र धेरैलाई यो कार्यक्रमका बारेमा जानकारी नभएर पनि गएको बर्ष थोरै मात्रै यसमा सहभागि भएका हुन्”, उहाँले भन्नुभयो“यस बर्ष भने चालु बर्षको तीन महिनामै ६०–७० जनाले खाता खोलिसक्नुभएको छ ।” यस बर्षदेखि मासिक दुईहजार चारसय रुपैँया खातामा राखिदिने गरेको श्रेष्ठको भनाई छ ।

विहीबार तुलसीपुरमा भएको स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । ईन्सेकको समन्वय र मानव अधिकार समाज तुलसीपुरको आयोजनामा कार्यक्रम भएको हो । त्यस अवसरमा सहभागिताहरुले स्वास्थ्यका बिभिन्न समस्याहरु राखेका थिए ।

उनीहरुले वडाका स्वास्थ्य संस्थाहरुमा जनशक्ति अभाब रहेको, एम्बुलेन्स सही सदुपयोग नभएको, कोरोनाको खोपमा अनियमितता भएको लगायतका गुनासाहरु राखेका थिए । बिभिन्न क्षेत्रबाट सहभागिता रहेको थियो । समाजका अध्यक्ष हुमकान्त कडेँलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ईन्सेकका सहजकर्ता विनोद केसीले गरेका थिए ।