दाङमा मोटरसाइकल दुर्घटना हुँदा स्वास्थ्य चौकीका निमित्त प्रमुखको मृत्यु

दाङ, १५ असार ।
दाङको राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख तारा प्रसाद बिकको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का कास अमृत रोका र निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल गएरात्रि राजपुर ५ जंग्रहवा चोकमा गाडी अनियंत्रित भएर दुर्घटना हुँदा बिक गम्भीर घाइते भएका थिए ।

कालाकाटे(सिक्टा जोड्ने हुलाकी सडकमा अहिले बाटो पिच र नाली निर्माण हुँदै छ । नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका बिक लडेर सिमेन्टबाट निर्माण भएको बल्क इट्टामा ठोक्किएको प्रहरीले बताएको छ । बिकको बल्क ईट्टामा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बिकलाई कोहलपुर मेडिकल कलेजमा उपचार गर्ने क्रम आज बिहान ४ बजे मृत्यु भएको हो ।शान्ति नगर गाउँपालिका वडा नम्बर ७ खैरेनी घर भएका अन्दाजी ३३ वर्षीय निमित्त प्रमुख बिक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत रहेका थिए । स्वास्थ्य चौकीमा कुनै प्रमुख नभएपछि अहिले उनलाई निमित्त प्रमुखको जिम्मेवार दिइएको थियो ।

त्यस्तै मोटरसाइकल चालक अमृत रोकाको खुट्टामा चोट लागेको र अहिले रोकालाई वडा प्रहरी कार्यालय लमहीको नीग्रानीमा कृपया मेडिकल हलमा उपचार भइरहेको छ । उपचार पस्च्यात रोकालाई ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाई आवश्यक अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनु भयो ।


मृतक बिकको सबलाई आफन्तले वास्तविक घटना थाहा नपाउदासम्म नल्याउने भनेपछि अहिले बिकको सबलाई कोहलपुर मेडिकल कलेजमै राखिएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्याम रोकाले जानकारी दिनु भयो ।

त्यस्तै यता राजपुर गाउँपालिकाले शोक विज्ञप्ती जारी गरेको छ । राजपुर गाउँपालिकाको स्वास्थ्य चौकी गंगदीमा इन्चार्जको रुपमा कार्यरत सि.अ.हे. व.तारा प्रसाद बिक एक मिहिनेती,कर्मठ तथा इमानदार कर्मचारी गुमाएको प्रति दुःख व्यक्त गर्दै विज्ञप्ती जारी गरेको हो ।